Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

गुणस्तरीय शिक्षाको माग गर्दै फ्रान्समा लाखौँ विद्यार्थी र शिक्षक सडकमा

गुणस्तरीय शिक्षाको माग गर्दै फ्रान्समा लाखौँ विद्यार्थी र शिक्षक सडकमा

images

इच्छाकामना न्युज

२१, आश्विन २०८३
गुणस्तरीय शिक्षाको माग गर्दै फ्रान्समा लाखौँ विद्यार्थी र शिक्षक सडकमा
images

पेरिस। फ्रान्समा विद्यालयको शैक्षिक अवस्था सुधार गर्नुपर्ने मागसहित मङ्गलवार देशभरि लाखौँ विद्यार्थी, शिक्षक, अभिभावक र मजदुर युनियनका सदस्य सडकमा उत्रिएका छन् ।

प्रदर्शनकारीले शिक्षकको अभाव, अव्यवस्थित कक्षा–तालिका, जीर्ण विद्यालय भवन र अत्यधिक गर्मी हुने कक्षाकोठा लगायतका समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । फ्रान्सको गृह मन्त्रालयका अनुसार देशभरिका प्रदर्शनमा २ लाख ५६ हजार मानिस सहभागी भएका थिए । राजधानी पेरिसमा मात्रै ५६ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । तर प्रदर्शन आयोजकले भने देशभरि ४ लाख ५० हजार र पेरिसमा एक लाख मानिस सहभागी भएको दाबी गरेका छन् ।

प्रदर्शनका क्रममा केही स्थानमा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको छ । गृह मन्त्रालयका अनुसार मङ्गलवार कम्तीमा ४८८ जना पक्राउ परेका छन् भने सुरक्षाकर्मीतर्फ ४३ जना घाइते भएका छन् । सेप्टेम्बरको अन्तिम सातादेखि नै फ्रान्सका सयौँ माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयका प्रवेशद्वार अवरुद्ध गर्दै आएका छन् ।

उनीहरूले विद्यालयमा शिक्षक नहुने, अनुपस्थित शिक्षकको ठाउँमा अर्को शिक्षक नपठाइने, पढाइको बोझ बढ्ने र विद्यालयका भवन तथा कक्षाकोठा जीर्ण अवस्थामा रहेको भन्दै आन्दोलन सुरु गरेका हुन् ।

‘हाम्रो भविष्यप्रति चिन्तित छौँ’

दक्षिणी फ्रान्सको दोस्रो ठुलो सहर मार्सेमा प्रदर्शनमा सहभागी १५ वर्षीया सेल्माले आफ्नो भविष्यप्रति चिन्ता व्यक्त गरिन् । ‘म आफ्नो भविष्यलाई लिएर एकदमै त्रसित छु,’ उनी भन्छिन् ।

१८ वर्षीया ओसियानले पनि विद्यालयमा शिक्षक अनुपस्थित हुने र उनीहरूको ठाउँमा पठाइने वैकल्पिक शिक्षकले प्रभावकारी रूपमा पढाउन नसक्ने समस्या रहेको बताउँछिन्, ‘हामी हाम्रो शिक्षालाई बचाउन र राम्रो शिक्षा प्राप्त गर्न चाहन्छौँ ।’

राजधानी पेरिसमा प्रदर्शनमा सहभागी १९ वर्षीया लिलियाले नयाँ पुस्ता आफ्नो आवाज सुनाउन सडकमा आएको बताइन् । उनले राष्ट्रपति इमानुएल म्याक्रोंले विद्यार्थीका माग सुन्ने आशा व्यक्त गरिन् ।

पेरिसको प्लास द ला रिपब्लिकमा प्रदर्शनकारीले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने मागसहितका ब्यानर प्रदर्शन गरेका थिए । दुई जना व्यक्ति स्मारकमा चढेर ‘उपेक्षित विद्यालय, बलि चढाइएको युवा पुस्ता’ लेखिएको ब्यानरसमेत झुन्ड्याएका थिए ।

विद्यार्थीको आन्दोलनमा शिक्षक, अभिभावक र विभिन्न मजदुर युनियनले पनि समर्थन जनाएका छन् । पश्चिमी फ्रान्सको रेने सहरमा शिक्षक रोमाँ दुबुर्ग करिब ३० जना सहकर्मीसहित विद्यार्थीको समर्थनमा प्रदर्शनमा सहभागी भएका थिए ।

उनले विद्यार्थीले भोग्नुपरेको समस्या र प्रदर्शनका क्रममा देखिएको प्रहरी बल प्रयोगबारे चिन्ता व्यक्त गरे । फ्रान्सको श्रमिक महासंघ ९सीजीटी० की प्रमुख सोफी बिनेटले विद्यार्थीको सुरक्षाका लागि युनियनका सदस्यहरू उपस्थित भएको बताइन् ।

प्रहरी कारबाहीमाथि प्रश्न

विद्यालय सुधारको मागबाट सुरु भएको आन्दोलन केही स्थानमा प्रहरीसँगको झडपमा परिणत भएको छ । केही प्रदर्शनकारीले फोहोर फाल्ने कन्टेनरमा आगो लगाउने, बस बिसौनीमा क्षति पुर्‍याउने र प्रहरीसँग भिड्ने गरेका छन् । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन लाठी, अश्रुग्यास र भीड नियन्त्रणका लागि प्रयोग हुने प्रक्षेप्य सामग्री प्रयोग गरेको छ ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले प्रदर्शनका क्रममा भएको हिंसाको निन्दा गरेका छन् । संसद्मा बोल्दै उनले हिंसालाई कुनै पनि अवस्थामा सहन नसकिने बताए । ‘विद्यालयमा आगो लगाउँदैमा विद्यालय भवनको अवस्था सुधार हुँदैन,’ उनले भने ।

सरकारले प्रदर्शनकारीमाथि प्रहरी दमन गर्न निर्देशन दिएको भन्ने आरोप पनि उनले अस्वीकार गरेका छन् । तर, मानवअधिकारवादी संस्था, शिक्षक संगठन र विद्यार्थीले प्रहरीले आवश्यकताभन्दा बढी बल प्रयोग गरेको आरोप लगाएका छन् ।

सोमबार उत्तरी फ्रान्सको लेन्स सहरमा प्रहरीको भीड नियन्त्रण गर्ने ‘ग्रिनेड’ लागेर १५ वर्षीय एक विद्यार्थीको हात गुमेको थियो । गत साता अर्का एक विद्यार्थी प्रहरीको यस्तै नियन्त्रण सामग्रीबाट लागेर केही दाँत गुमाउन पुगेको विवरण सार्वजनिक भएको छ ।

त्यस्तै, मेट्ज सहरमा पक्राउ परेकी १५ वर्षभन्दा कम उमेरकी एक छात्रालाई सादा पोसाकमा रहेका प्रहरीले अनुचित रूपमा छोएको देखिने भिडियो सार्वजनिक भएपछि सरकारी वकिलले प्रहरी अनुसन्धानको माग गरेका छन् ।

सरकारका अनुसार आन्दोलन सुरु भएदेखि हालसम्म २१५ विद्यार्थी र ७१५ प्रहरी घाइते भएका छन् ।

एम्नेस्टी इन्टरनेसनलले पनि प्रदर्शनकारीमाथि भइरहेको प्रहरी कारबाहीप्रति चिन्ता व्यक्त गरेको छ । संस्थाले पछिल्ला दिनमा देखिएको असामान्य प्रहरी बल प्रयोग रोक्न फ्रान्सेली अधिकारीसँग माग गरेको छ । संस्थाकी प्रतिनिधि आन साभिनेल–बाराले सार्वजनिक भएका तस्बिर र प्रत्यक्षदर्शीका भनाइले अश्रुग्यास, लाठी र प्रहरीको भीड नियन्त्रण गर्ने तरिकाबारे गम्भीर प्रश्न उठाएको बताएकी छन् ।

२४ विद्यालयमा आगजनी र तोडफोड

फ्रान्सको शिक्षा मन्त्रालयका अनुसार आन्दोलन सुरु भएयता देशभरि २४ वटा विद्यालयमा आगजनी वा तोडफोड भएको छ ।

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिलाई त्यसको मर्मत खर्च आफैँले तिर्नुपर्ने व्यवस्था गर्ने कानुन ल्याउने तयारी सरकार गर्दैछ । अहिले यस्ता क्षतिको खर्च सार्वजनिक कोषबाट बेहोर्ने गरिन्छ ।

विद्यालयको भौतिक अवस्था सुधार, पर्याप्त शिक्षकको व्यवस्था र प्रभावकारी पठनपाठन सुनिश्चित गर्नुपर्ने माग गर्दै सुरु भएको आन्दोलनले फ्रान्सको शिक्षा क्षेत्र र प्रहरीको व्यवहारबारे व्यापक बहस सिर्जना गरेको छ ।

विद्यार्थीले आफ्नो भविष्यसँग जोडिएको विषयमा सरकार गम्भीर हुनुपर्ने माग गरिरहेका छन् । सरकारले भने प्रदर्शनका क्रममा हुने हिंसा र सार्वजनिक सम्पत्तिमाथिको क्षति नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ । शिक्षा सुधारको मागमा विद्यार्थी, शिक्षक र अभिभावक एक ठाउँमा उभिए पनि आन्दोलन व्यवस्थापन र प्रहरीको बल प्रयोगलाई लिएर सरकारमाथि दबाब बढ्दै गएको छ ।

images
प्रकाशित मिति :आश्विन २१, २०८३ बुधवार - १२:१०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology