आँबुखैरेनी। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि आँबुखैरेनी क्याम्पसका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।
क्याम्पसमा कार्यरत पूर्णकालीन प्राध्यापक तथा कर्मचारीहरूले बाढीपीडितको राहत,उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रु.३१ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
विपद् जुनसुकै बेला जोसुकैलाई पर्न सक्ने भएकाले पीडितका दुःखमा सकेको सहयोग र सहकार्य गर्नुपर्ने सन्देशसहित क्याम्पसका कर्मचारीहरूले सहयोग रकम प्रदान गरेका हुन्। उनीहरूले विपद्को समयमा एकअर्कालाई सहयोग गर्नु सामाजिक दायित्व भएको भन्दै अहिले अरूलाई परेको दुःखमा साथ दिन सके भविष्यमा आफूलाई आइपर्ने कठिन परिस्थितिमा पनि सहयोगको वातावरण बन्ने बताएका छन्।