चितवन। बिना बिल बिजक मोबाइल बिक्री वितरण गरेको आरोपमा चितवनमा एक व्यवसायी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिका–१० का ४१ वर्षीय दिपक प्रसाईलाई आइतबार पक्राउ गरेको हो। भरतपुर–१ र १० मा उनले सञ्चालन गरेको दिपक मोबाइल पसलबाट बिना बिल बिजक मोबाइल बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले भरतपुर–१० स्थित हाकिमचोकबाट उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको पसलबाट विभिन्न सिरिजका एप्पलका आइफोन ५० थान, सामसुङका मोबाइल ४ थान, रेडमीका २ थान, एप्पलको आइप्याड १ थान र भिभोको मोबाइल १ थान बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रभुसन यादवका अनुसार पक्राउ परेका प्रसाईलाई बरामद मोबाइलसहित आवश्यक कारबाहीका लागि भन्सार कार्यालय वीरगञ्ज पठाइएको छ।