चितवन । नेपाल मगर संघ जिल्ला कार्यसमिति चितवनले स्थापना गरेको मगर विद्यार्थी अक्षयकोषमा १० लाख ७ हजार ६ सय ८० रुपैयाँ जम्मा भएको छ।
संघले आइतबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी अक्षयकोषमा लक्ष्यअनुसारको रकम जम्मा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार कोषमा देउसी–भैलो कार्यक्रम तथा देश–विदेशबाट संघलाई प्राप्त सहयोग रकम जम्मा गरिएको हो।
अक्षयकोषलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न ‘मगर विद्यार्थी अक्षयकोष सञ्चालन निर्देशिका, २०७६’ तयार गरिएको संघले जनाएको छ। कोषबाट सञ्चालन हुने सम्पूर्ण कार्यक्रम सोही निर्देशिकाअनुसार सञ्चालन गरिनेछ।
संघका अध्यक्ष निर्मल थापा मगरका अनुसार मगर विद्यार्थी कल्याणकारी कोषका रूपमा स्थापना गरिएको कोषमा अपेक्षित प्रगति हुन नसकेपछि १५औँ जिल्ला अधिवेशनबाट निर्वाचित समितिका अध्यक्ष मिलन थापा मगरको नेतृत्वमा चितवनका विभिन्न मगर गाउँ, बस्ती तथा गुठीमा पुगेर देउसी–भैलोमार्फत रकम संकलन गरिएको थियो। सोही अभियानबाट २०७५ सालमा अक्षयकोष स्थापना गरिएको उनले जानकारी दिनुभयाे।
अक्षयकोषको रकम चितवन तथा छिमेकी जिल्लाका स्थानीय तहमा रहेका विपन्न, जेहेन्दार, प्रतिभावान् तथा अशक्त मगर विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासमा प्रयोग गरिने अध्यक्ष थापा मगरले बताउनुभयाे। उनका अनुसार विद्यार्थीको शैक्षिक गुणस्तर, आत्मविश्वास, सीप र प्रतिभा विकास गर्दै देशको समग्र विकासमा मगर समुदायको योगदान बढाउने उद्देश्यले कोष सञ्चालन गरिएको हो।
कोषमार्फत नै यसअघि माडीका मगर विद्यार्थी, इच्छाकामना–२ काउले, इच्छाकामना–७ सिमलढाप तथा देवघाट–२ नरमका विद्यालयमा अध्ययनरत मगर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको संघले जनाएको छ। यस्तै, २०८०, २०८१ र २०८२ को शैक्षिक सत्रमा एसईई तथा कक्षा १२ मा चितवनबाट उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको थियो।
त्यस्तै, संघमा आबद्ध ५३ प्रारम्भिक समितिबाट ९३ जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, भरतपुर–४ बाह्रघरेस्थित विद्यालयमा कक्षा ९ मा अध्ययनरत आयुष थापा मगरलाई एक वर्षको पूर्ण छात्रवृत्ति तथा विद्यार्थीका लागि बारिस्ता र बेकिङसम्बन्धी दुईदिने तालिम सञ्चालन गरिएको संघले जनाएको छ।
आगामी दिनमा माध्यमिक तहदेखि डिग्री तहसम्म उत्कृष्ट हुने विद्यार्थीलाई ‘शिक्षा अवार्ड’ प्रदान गर्ने, सीप, व्यक्तित्व तथा नेतृत्व क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने संघको योजना छ। साथै मगर जातीय भाषा, कला र संस्कृतिको प्रवर्द्धनसँगै रक्तदान, स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतनासम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकतामा राखिने अध्यक्ष थापा मगरले जानकारी दिए।
अक्षयकोषको लक्ष्य पूरा गर्न सहयोग गर्ने मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति, अक्षयकोषका पदाधिकारी, कलाकार, नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवन तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने दाताप्रति अध्यक्ष थापा मगरले धन्यवाद व्यक्त गर्नुभयाे।