रुपन्देही । रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी १० वर्षीया बालिकालाई प्रहरीले ३८ घण्टापछि जंगलबाट सकुशल उद्धार गरेको छ।
बुधबार राति घरमा सुतिरहेकी बालिकालाई अपहरण गरी जंगलमा लगेर राखिएको थियो। बालिकाको खोजीमा प्रहरी र स्थानीयवासी परिचालित भएका थिए। शुक्रबार साँझ कान्छी बजारस्थित जंगलमा अपहरणकारी निदाएको मौका पारेर प्रहरीले बालिकाको उद्धार गरेको हो।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले २७ वर्षीय युवराज थारु ‘विशाल’लाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार खोजीका क्रममा गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएपछि एक राउण्ड गोली चलाइएको थियो। गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले अपहरणकारीले छाडेको मोबाइलका आधारमा उनको पहिचान खुलेको जनाएको छ। बालिकाको स्वास्थ्य परीक्षण गराइएको र अहिले प्रहरीको सुरक्षामा राखिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।