Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छः रवि लामिछाने

संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छः रवि लामिछाने

images

इच्छाकामना न्युज

४, भाद्र २०८३
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छः रवि लामिछाने
images

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी तथ्यमा आधारित भएर विषय उठाउनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा बोल्दै लामिछानेले संवेदनशील निकाय राज्यका महत्वपूर्ण संरचना भएकाले त्यस्ता संस्थामाथि प्रश्न गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए।

उनले व्यक्तिगत जीवनजस्तै संवैधानिक निकायसँग सम्बन्धित विषय पनि संवेदनशील हुने भन्दै कुनै व्यक्तिविशेषलाई लक्षित गरेर भन्दा संस्थाको प्रतिष्ठा र संवैधानिक भूमिकालाई ध्यानमा राखेर छलफल गर्नुपर्ने धारणा राखे।

उनले भने, ‘कहिलेकाहीँ विषयहरू अलि संवेदनशील हुन्छन्। हरेक व्यक्तिको निजी जीवन पनि संवेदनशील हुन्छ । संवेदनशील निकायहरू अझ बढी राज्यको पिल्लर भएको हुनाले प्रश्न, तथ्यहरू राख्दा ती संरचनाहरूप्रतिको सम्मानमा आँच नपुगोस् भन्ने कुरालाई पनि विशेष ध्यान दिनुपर्छ।’ उनका अनुसार संवैधानिक निकाय कुनै व्यक्तिविशेषको संस्था नभएकाले त्यहाँ कार्यरत पदाधिकारीमाथि प्रश्न उठाउँदा पनि समग्र संस्थाको प्रतिष्ठामा असर पर्न नदिनुपर्ने हुन्छ। उनले भने, ‘किनकी कुनै एउटा व्यक्तिको कुरा होइन, संरचना वा निकाय भएको हुनाले हामीले ती संरचनाहरूको प्रतिष्ठाको ख्याल राख्नैपर्छ।’

लामिछानेले राज्य व्यवस्था तथा सुशासन समिति पनि संवेदनशील विषयमा छलफल गर्ने महत्वपूर्ण संसदीय समिति भएकाले समितिमा उठाइने विषयले संस्था, पदाधिकारी तथा समितिको गरिमामा चुनौती नआउने गरी प्रस्तुत गर्नुपर्ने बताए। उनले संविधानले विभिन्न संवैधानिक निकायमा नियुक्तिको प्रक्रिया स्पष्ट रूपमा निर्धारण गरेको उल्लेख गर्दै संविधानमा गरिएको व्यवस्थालाई स्वीकार गर्ने विषयमा सबै प्रतिबद्ध हुनुपर्ने बताए।

संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रियालाई लिएर राजनीतिक आरोप–प्रत्यारोप गर्नु उचित नहुने उनको भनाइ थियो। उनले अदालत वा संवैधानिक निकायलाई कुनै राजनीतिक दलसँग जोडेर हेर्न नहुने धारणा राखे। लामिछानेले भने, ‘संविधानमा जसरी, जुन ढंगबाट विभिन्न निकायहरूको नियुक्तिको प्रक्रिया राखेको छ, संविधानमा भएको व्यवस्थालाई मान्ने कुरामा हामी प्रतिबद्ध हुनुपर्छ। अदालत नै पार्टीको हो, यो पनि पार्टीको भन्न मिल्दैन।’

उनले संवैधानिक व्यवस्थाअनुसार नियुक्त भएका जिम्मेवार व्यक्तिहरूले संविधानले दिएको दायित्व पूरा गर्ने भएकाले उनीहरूमाथि अत्यधिक आरोप लगाउने शैलीले संस्था र संस्थामा रहेका व्यक्तिहरूको मानमर्यादा घट्न सक्ने बताए। उनले भने,‘संविधानमा भएको व्यवस्था अनुसार नै संवैधानिक निकायका जिम्मेवार व्यक्तिहरूले संविधानले नै दिएको आफ्नो दायित्व पूरा गरेर नियुक्ति गरेको हुनाले हामीले असाध्यै धेरै आरोपित नै गर्ने ढंगले भन्दा संस्था र संस्थाका व्यक्तिहरूको मानमर्यादा कम हुन्छ।’

यसैगरी, लामिछानेले संविधान संशोधनको विषयमा समेत प्रतिनिधिसभाको दुई तिहाइ बहुमत मात्र पर्याप्त नहुने बताएका छन्। संविधान संशोधनका लागि संविधानले तोकेको प्रक्रियालाई नै पालना गर्नुपर्ने उनको भनाइ छ।

images
प्रकाशित मिति :भाद्र ४, २०८३ बिहिवार - १५:२६:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology