Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

साउन १ यता बर्डफ्लुको नयाँ संक्रमण नदेखिएको विभागको दाबी

साउन १ यता बर्डफ्लुको नयाँ संक्रमण नदेखिएको विभागको दाबी

इच्छाकामना न्युज

७, श्रावण २०८३
साउन १ यता बर्डफ्लुको नयाँ संक्रमण नदेखिएको विभागको दाबी

पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रण हुन थालेको छ। राजधानी काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए। तर पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन।

images

पछिल्लोपटक काठमाडौँको गोकणेश्वर-१ सुन्दरीजलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन। संक्रमण भएका वरपरका क्षेत्रबाट नमुना ल्याएर परीक्षणको काम भइरहेको छ। उनले भने, ‘अहिले नियन्त्रित अवस्थामा छ। बर्डफ्लु देखिएका क्षेत्र वरिपरिका नमुना ल्याएर परीक्षण गर्दै छौँ।’

विभागको तथ्यांकअनुसार चैत ४ गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। यससँगै चैत ६ गते कृषि तथा पशु पन्छी बिकास मन्त्रालयबाट बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरिएको थियो।

मोरङका उर्लाबारी-८ र सुन्दर हरैचा-४ मा पहिलोपटक बर्डफ्लु देखिएको थियो। दाहालका अनुसार कमर्सियल लेयर्स बढी प्रभावित भएको थियो। यस्तै प्यारेन्ट, कमर्सियल ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा रोगको संक्रमण भएको थियो। हालसम्म ११ जिल्लामा संक्रमण देखिएको छ।

काठमाडौँ उपत्यका बाहेकका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उनले बताए। काठमाडौँ उपत्यका र काभ्रे जिल्लामा मात्र ११९ स्थानमा रोग पुष्टि भएको छ।काठमाडौँ उपत्यकामा मात्र ९२ स्थानमा संक्रमण देखिएको थियो। जसमध्ये काठमाडौँमा ३२, ललितपुरको सदर चिडियाखाना गरी १५ र भक्तपुरमा ४५ ठाउँमा संक्रमण देखिएको थियो।

काभ्रेपलाञ्चोकमा मात्र २७ स्थानमा संक्रमण देखिएको विभागले जनाएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डा मुकुल उपाध्यायका अनुसार नेपालभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ।

एघार लाख ६५ हजार ६६३ वटा अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको छ। काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गरिएको थियो। महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। रु ५० करोड बजेट रकमान्तर भई रु ५२ करोड व्यवस्थापन भएकोमा हाल सम्म १०४ जना कृषक र फर्मको खातामा रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरिसकेको छ।

देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाले तीव्र रूपमा परीक्षण अघि बढाएका छन्। सरकारको तदारुकता र किसानको सहयोगका कारण बर्डफ्लु नियन्त्रणमा आउन सकेको हो। अब थप संक्रमण हुने सम्भावना कम रहेको वरिष्ठ पशु चिकित्सक उपाध्याय बताउँछन्। 

संक्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ। यससँगै किसानले मूल्य पाउन थालेका छन्। संक्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए। चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यता आएको थियो।

 

images
प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - ११:०४:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology