काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)का पूर्व सचिव तथा एनआरएनए क्यानडाका पूर्व अध्यक्ष चिरञ्जीवी घिमिरे एनआरएनए आईसीसीको सल्लाहकार पदमा मनोनीत भएका छन्।
लामो समयदेखि गैरआवासीय नेपाली समुदायको हकहित, संस्थागत विकास तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका घिमिरेको अनुभव,नेतृत्व क्षमता र संस्थाप्रतिको समर्पणलाई मूल्याङ्कन गर्दै उनलाई आईसीसी सल्लाहकारको जिम्मेवारी दिइएको हो।
एनआरएनएमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका घिमिरेले क्यानडामा नेपाली समुदायलाई संगठित बनाउन,सामाजिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्न र नयाँ पुस्तालाई नेपाली समुदायसँग जोड्न उल्लेखनीय योगदान पुर्याएका छन्।
समुदायका विभिन्न संघसंस्थासँगको सहकार्य र सक्रिय सहभागिताका कारण उनी नेपाली समुदायबीच एक जिम्मेवार तथा प्रभावशाली नेतृत्वका रूपमा परिचित छन्। त्यसैगरी,क्यानडाको मूलधारको राजनीतिमा पनि उनी सक्रिय रहँदै आएका छन्। विशेषगरी लिबरल पार्टीसँग आबद्ध भएर उनले सामुदायिक नेतृत्वलाई सशक्त बनाउने तथा नेपाली मूलका नागरिकको राजनीतिक सहभागिता विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
घिमिरेको मनोनयनसँगै विश्वभर फैलिएका गैरआवासीय नेपालीलाई अझ सशक्त रूपमा एकताबद्ध गर्दै नेपालको विकास, लगानी, ज्ञान तथा सीप हस्तान्तरणमा एनआरएनएको भूमिका थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
संस्थाभित्रको अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई उपयोग गर्दै उनले आगामी दिनमा एनआरएनएको अभियानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
एनआरएनए आईसीसीको सल्लाहकार पदमा चिरञ्जीवी घिमिरेको मनोनयनलाई गैरआवासीय नेपाली समुदायले सकारात्मक रूपमा लिँदै उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।