काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि शुक्रबार वीर अस्पताल परिसरमा प्रदर्शन गर्दै प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरिएको छ।
प्रदर्शनकारीहरूले गणेश नेपालीको मृत्युको घटनाप्रति सरकार जिम्मेवार रहेको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेका छन्।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल वीर अस्पतालमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको प्रहरीले पुष्टि गरेको छ। घटनापछि अस्पताल परिसरमा प्रदर्शन भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।