धादिङ । धादिङ प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल हाइड्रोक्लोराइड बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार वीरगञ्जबाट बनेपातर्फ जाँदै गरेको यात्रुबाहक बसमा लुकाइछिपाइ लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा सोमबार बिहान बेनीघाट रोराङ गाउँपालिका–१ जोगीमारास्थित पृथ्वी राजमार्गमा चेकजाँच गरिएको थियो ।
चेकजाँचका क्रममा वीरगञ्जबाट बनेपा जाँदै गरेको बा.प्र.०३–००१ ख २६८९ नम्बरको बसमा सवार दुई जनाले बोकेको एउटा सुटकेस र दुईवटा झोलाभित्र ७,८४० स्ट्रिपमा प्याक गरिएको ७८ हजार ४ सय क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड (५० एमजी) फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३ निवासी ४१ वर्षीय मोहनप्रसाद कुर्मी र ३५ वर्षीया प्रतिमा देवी रहेका छन् । उनीहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागुऔषधसँगै दुई थान मोबाइल फोन पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत इलाका प्रहरी कार्यालय गजुरीमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।