काठमाडौं।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानका आधारभूत व्यवस्थामाथि हस्तक्षेप नगर्न आग्रह गर्दै अब मुलुकमा रगत होइन, पसिनाको क्रान्ति आवश्यक रहेको बताएका छन् ।
सरकारको १०० दिनलाई लिएर अत्यधिक आलोचना नगर्ने उल्लेख गर्दै उनले सयौँ वर्षदेखि थुप्रिएको समस्या १०० दिनमै समाधान गर्न नसकिने बताए । यद्यपि, प्रतिपक्षका सुझावलाई सरकारले सकारात्मक रूपमा ग्रहण गर्नुपर्नेमा उनले जोड दिए।
साम्पाङले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पुनःस्थापनाको व्यवस्था नगरी विस्थापित नगर्न आग्रह गरे। सहकारी पीडितलाई रकम फिर्ता गर्ने क्रममा सहकारी ठगी गर्ने व्यक्तिहरूको सम्पत्तिबाट कति रकम असुल गरिएको हो भन्ने विवरण सार्वजनिक गर्न पनि उनले माग गरे।
यस्तै सुस्ता क्षेत्रका बासिन्दाको आन्दोलन, भूमि प्रमाणपत्र वितरण, सीमावर्ती विकासलगायत विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
उनले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य विश्वविद्यालयका रूपमा विकास गर्न माग गर्दै प्रतिष्ठानको आर्थिक अवस्था कमजोर बन्दै गएको उल्लेख गरे ।
साम्पाङले विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको उल्लेख गर्दै दुर्घटनापछि मात्र प्रतिक्रिया जनाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
चालकलाई जरिवाना मात्र होइन, पर्याप्त तालिम दिनुपर्ने र विपद्का बेला नागरिकले अपनाउनुपर्ने उपायबारे व्यापक जनचेतना आवश्यक रहेको उनले बताए ।
उनले सरकारको १०० दिनको प्रयासको प्रशंसा गर्दै जनताका सुझाव समेटेर अघि बढ्न आग्रह गरे।