Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

सरकारका १०० दिनका उपलब्धि ‘हात्तीको देखाउने दाँत मात्र’ : प्रमुख प्रतिपक्षी

सरकारका १०० दिनका उपलब्धि ‘हात्तीको देखाउने दाँत मात्र’ : प्रमुख प्रतिपक्षी

images

इच्छाकामना न्युज

२२, आषाढ २०८३
सरकारका १०० दिनका उपलब्धि ‘हात्तीको देखाउने दाँत मात्र’ : प्रमुख प्रतिपक्षी
images

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको सरकारका १०० दिनको उपलब्धिलाई हात्तीको देखाउने दाँत मात्रै भएको टिप्पणी गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै  प्रधानमन्त्री शाह नेतृत्वको सरकारको १०० दिने कार्यकाल प्रचारमुखी मात्र भएको टिप्पणी गरे ।

आङ्देम्बेले सरकारले सार्वजनिक गरेको उपलब्धिको सूची र यथार्थबिच ठुलो खाडल रहेको बताए । प्रधानमन्त्रीको संसदीय उत्तरदायित्वमाथि प्रश्न उठाउँदै आङ्देम्बेले प्रधानमन्त्री संसद्‌मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा भाइरल हुन बढी केन्द्रित भएको आरोप लगाए ।

‘धुरीमा चढेपछि सिँढी भुल्नु हुँदैन । संसद्‌ले नै तपाईंलाई प्रधानमन्त्री बनाएको हो, तर तपाईं संसद्‌लाई नै अवमूल्यन गर्दै हुनुहुन्छ । सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देश चलाउन गम्भीरता चाहिन्छ । भाइरल हुने बाटो त्याग्नुहोस्,’ आङ्देम्बेले भने । 

सरकारले भ्रष्टाचारविरुद्ध अभियान थालेको दाबी गरिरहँदा आङ्देम्बेले प्रधानमन्त्रीको सम्पत्ति विवरणमा देखिएको सुनको स्रोतमाथि प्रश्न उठाए । ‘प्रधानमन्त्रीको सम्पत्तिमा झन्डै २०० तोला सुन देखियो । यसको स्रोत के हो ? विपक्षीले सोध्छ नै,’ उनले भने,  ‘सम्पत्ति छानबिनको सुरुवात अरूबाट होइन, म (भीष्मराज आङ्देम्बे) र प्रधानमन्त्री बालेन्द्र शाहबाटै गरौँ । म आफ्नो सम्पत्ति छानबिनका लागि तयार छु, के प्रधानमन्त्री तयार हुनुहुन्छ ?’

उनले आफू र आफ्ना मान्छेमाथि छानबिन नगर्ने तर विपक्षीमाथि मात्र कठोर हुने ‘चयनात्मक’ पद्धतिले सुशासन नआउने बताए । 

वर्षायामको मुखमा वैकल्पिक व्यवस्था नगरी सुकुमबासी बस्तीमा डोजर चलाइएको प्रति आङ्देम्बेले आपत्ति जनाए ।  ‘सुकुमबासीको बसोबास गैरकानुनी होला, तर उनीहरूको जन्म र मानवीय अधिकार गैरकानुनी होइन,’ उनले भने, ‘वृद्ध, गर्भवती र बालबालिकालाई सडकमा पुर्‍याउनु सरकारको मानवीय संवेदना शून्य भएको प्रमाण हो ।’ उनले सरकारको आलोचना गर्ने डम्बर तामाङको गिरफ्तारीको विरोध गर्दै मन्त्री र सत्तापक्षका सांसदले हिंसात्मक अभिव्यक्ति दिँदा पनि कारबाही नभएकोमा दोहोरो मापदण्डको आरोप लगाए । 

संवैधानिक परिषद्को गणपूरक सङ्ख्या सम्बन्धी अभ्यासलाई उनले ‘संवैधानिक कू’ को संज्ञा दिए । ६ सदस्यीय परिषद्‌मा ३ जनाको उपस्थितिलाई बहुमत भनिनु संविधान र लोकतन्त्रको मर्मविपरीत भएको उनको तर्क छ । यस्तै, सत्ता साझेदार रास्वपाले प्रदेश सभा खारेजीको प्रस्ताव पारित गरेको सन्दर्भमा उनले भने, ‘प्रधानमन्त्री सङ्घीयता बलियो बनाउँछु भन्नुहुन्छ, तर उहाँकै साझेदार प्रदेश मास्ने कुरा गर्छन् । यो कस्तो विरोधाभास हो ?’

मन्त्रालयको सङ्ख्या घटाएर मितव्ययिताको प्रचार गरे पनि ५७ जना सल्लाहकार र २०० बढीको सचिवालय बनाएर राज्य कोषमा भार थोपरिएको आङ्देम्बेले बताए । बीवाईडी गाडी प्रकरण, करको दर हेरफेरको सूचना चुहावट र पूर्वगृहमन्त्रीको शेयर स्वामित्वसम्बन्धी प्रतिवेदनहरू सरकारले लुकाएर अपारदर्शिता प्रदर्शन गरेको उनको भनाइ थियो ।

images
प्रकाशित मिति :आषाढ २२, २०८३ सोमवार - १४:४३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology