काठमाडौँ। लघु,घरेलु तथा साना उद्यमीहरुको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवशेन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । ललितपुरको जावलाखेलमा भइरहेको महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।
महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले ३२ देखि ४० लाख जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जानकारी दिँदै निजी क्षेत्रको मनोबल बढाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र देशको समृद्धि सम्भव रहेको उल्लेख गर्दै उहाँले उद्योगीको मुहारमा खुसी ल्याउन सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
रोजगारी सिर्जना, उद्यमशीलता विकास, स्थानीय स्रोतको उपयोग तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका रहेको महासङ्घले जनाएको छ । २५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई घरेलु तथा साना र २५ करोडभन्दा बढी स्थिर पुँजी भएको उद्योगलाई मझौला उद्योग भनिन्छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवको फागुनसम्म सात हजार ३६३ साना उद्योग र दुई हजार २३७ मझौला उद्योग दर्ता भएका छन् ।
महासङ्घका अनुसार मुलुकभर नौ लाख ८४ हजार साना तथा मझौला उद्योग सञ्चालनमा छन् । रासस