देवघाट, ३ फागुन । तनहुँको देवघाट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु भएको छ। प्रमुख अतिथि देवघाट गलेश्वर आश्रमका स्वामि १००८ आत्मानन्द गिरिजिमाहराजले एक कार्यक्रमका बिच आज रिवन काटेर सेवा केन्द्रको समुद्घाटन गर्नुभयो। जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र दमौली तनहुँको आयोजनामा देवघाट ५ मा एक कार्यक्रमको आयोजना गरि नागरिक आरोग्य सेवा केन्द्रको सेवा सुरु गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गलेश्वर आश्रमका स्वामि १००८ आत्मानन्द गिरिजिमाहराजले समुद्घाटन कार्यक्रममा बोल्दै देवघाटधाम क्षेत्र वरिपरि वृद्वहरुको बढी बसोबास भएको हुनाले पनि वृद्वहरुलाई प्रभावकारि हुने बताउनुभयो। बढी वृद्वहरु बसोबास गर्ने क्षेत्र भएको हुनाले पनि आयुर्वेद औंषधिहरु प्राप्त मात्रामा सधैं उपलब्ध गराउन सेवा केन्द्रलाई आग्रह गर्नुभएको थियो।
कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाको बिकास हरेक क्षेत्रहरुमा निरन्तर अगाडी बढी रहेको बताउनुभयो। साथै अध्यक्ष थापाले नागरिक आरोग्य सेवा केन्द्रबाट देवघाट गाउँपालिका जनसमुदायका धेरै व्यक्तिहरुले सेवा लिन सक्ने समेत बताउनुभयो।

सो कार्यक्रममा देवघाट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उमनाथ ढकाल, देवघाट गाउँपालिका वडा १ का वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट नेकपा पार्टी अध्यक्ष भुवनसिङ्ग गुरुङ, देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारी, कार्यपालिका सदस्य अनिता गुरुङ र यममाया गुरुङ, जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र डा.राम प्रबोध मण्डल, देवघाट गाउँपालिका स्वस्थ्य प्रमुख प्रदीप बुढाथोकी, देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज उज्वलराज चिलवल, देवघाट सेवा केन्द्रका अध्यक्ष किरण सुवेदी र देवघाट क्षेत्र बिकास समितिका सदस्य नबराज ढकाल लगाएतको उपस्थिति रहेको थियो भने तनहुँ जिल्ला आयुर्वेदका व्यवस्थापक तथा संचालक समितिका अध्यक्ष देवि बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।