गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए । आजभोली ति दिन विस्तारै सम्झनामा सीमित हुँदै गएको छ । गाउँका युवा रोजगारीका लागि सहर र विदेशतिर पसेका छन् । गाउँमा काम गर्ने मानिस अभाव छ । जसका कारण किसानले गोरु पाल्न विस्तारै छोडिसकेका छन् ।
उहाँले बसाइँसराइका कारण गाउँमा खेती गर्ने जनशक्ति घट्दै गएको, गोरु पाल्ने चलन पनि कम हुँदै गएकाले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्नु अहिलेको आवश्यकता बनेको बताउनुभयो । मुसिकोट‐२ का किसान बुद्धीराम खरेलले भन्नुभयो, “गाउँमा अहिले गोरु पाल्न सम्भव छैन, खेत जोत्नका लागि मान्छे खोज्दा भेटिँदैनन्, यस्तो अवस्थामा आफूले थोरै लगानी गरेर अनुदानमा हाते ट्याक्टर पाउँदा निकै खुसी लागेको छ ।”
हाते ट्याक्टर र कुटानी–पिसानी मिलले किसानको श्रम, समय र लागत कम हुने तथा बाँझो जमिनको उपयोग बढाउन मद्दत पुग्नेछ । पचहत्तर प्रतिशत अनुदानमा मेसिनरी औजार प्राप्त गरेपछि कृषकहरू पनि उत्साहित देखिएका छन् अर्का कृषक कृष्णकुमारी कार्कीले कुटानी–पिसानी मिलले आफूलाई घरमै अन्न पिस्न सजिलो हुने भएको भन्दै यसले समय र ढुवानी खर्चमा समेत बचत हुने बताउनुभयो ।
नगरपालिकाकी कृषि प्राविधिक अस्मिता आचार्यले कृषकले औजारको सही प्रयोग र नियमित मर्मतसम्भारमा ध्यान पु¥याउन सकेका यसबाट लामो समयसम्म फाइदा लिन सकिने बताउनुभयो । गाउँ रित्तिँदै गएको वर्तमान अवस्थामा मुसिकोट नगरपालिकाले गाउँमा बाँकी रहेका किसानलाई आधुनिक प्रविधिमार्फत कृषि पेसालाई टिकाइराख्न यस्ता प्रकारका आधुनिक यान्त्रिकीकरण वितरणबाट थप मद्दत पुग्ने अपेक्षा गरिएको जनाएको छ । रासस