काठमाडौं । पूर्वाधार विकासमन्त्री अध्यक्ष रहने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले पुनर्स्थापना रकम बुझेर होल्डिङ सेन्टर खाली गर्न सुकुम्वासीहरुलाई भनेको छ ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा सूचना टाँसेर सुकुम्वासीहरुलाई ५ दिनभित्र शिविर छाड्न भनिएको हो । सोमबार (असार ८) गते सूचना टाँसेको समितिले यही असार १२ गतेभित्र (५ दिनभित्र) सुकुम्वासीलाई शिविर छाड्न भनिएको छ ।
‘पुनर्स्थापना रकम प्राप्त भए पश्चात शिविर बन्द हुने भएकाले खाली गरी स्वःव्यवस्था गर्नुहुन,’ सूचनामा भनिएको छ ।
राहत रकम र शिविर खाली गर्ने विषयमा जारी गरिएको ६ बुँदे सूचनामा भनिएको छ, ‘शिविरमा आउने टोलीसमक्ष राहत रकम प्राप्त गर्नका लागि तोकिएको ढाँचामा निवेदन दिन, राहत रकम सम्बन्धित व्यक्तिको बैंक सातामा पठाइने, घर भाडाका लागि तोकिएको रकम मासिक रुपमा किस्तावन्दीमा सोही खातामा उपलब्ध गराइने, पुनर्स्थापना रकम प्राप्त भए पश्चात शिविर बन्द हुने भएकाले खाली गरी स्वःव्यवस्था गर्नुहुन, यो सूचना प्रकाशित मितिले ५ दिन (२०८३/०३/१२) भित्र खाली ती गरी स्वःव्यवस्थापन गर्नहुन र पुनर्स्थापना रकम प्राप्त नभएमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा कार्यालय समयमा सम्पर्क गर्नू ।
कीर्तिपुर होल्डिङ सेन्टरमा ६८ परिवारका २०३ जना बस्दै आएका छन्। सरकारले प्रत्येक परिवारलाई स्वः व्यवस्थापनका लागि २५ हजार रूपैयाँ दिने निर्णय गरेबमोजिम राहत रकम बुझेर शिविर खाली गर्न भनिएको हो । वास्तविक सुकुम्वासीलाई घरभाडावापत मासिक १५ हजार उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
समितिले पुनर्स्थापना खर्च वितरण सम्बन्धी जारी गरेको सूचनाको पूर्णपाठ
उपरोक्त सम्बन्धमा २०८३ वैशाख १२, १३, १८, १९ र २० गते काठमाडौ उपत्यका नही किनाराका विभिन्न जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा दशरव रङ्गशालामा दर्ता हुन आई यस शिविरमा रहनुभएका घर परिवारलाई नेपाल सरकारको निर्णयानुसार राहत रकम रु. २५,०००/–(पच्चिस हजार) प्रदान गरिने निर्णय भएकोले उक्त निर्णय कार्यान्वयनको लागि सम्बन्धित सबैमा अनुरोध गर्दै देहाय बमोजिम सूचित गरिन्छ।
तपशिलः
१. राहत रकम प्राप्त गर्नका लागि तोकिएको ढाँचामा आउने टोलीसमक्ष निवेदन पेश गर्ने ।
२. राहत रकम सम्बन्धित व्यक्तिको बैंक सातामा सोही पठाइनेछ ।
३. घर भाडाका लागि तोकिएको रकम मासिक रुपमा किस्ताबन्दीमा सोही खातामा उपलब्ध गराइनेछ ।
४. पुनर्स्थापना रकम प्राप्त भए पश्चात शिविर बन्द हुने भएकाले खाली गरी स्वःव्यवस्था गर्नुहुन।
५. यो सूचना प्रकाशित मितिले ५ दिन (२०८३/०३/१२) भित्र खाली ती गरी स्वःव्यवस्थापन गर्नहुन।
६. पुनर्स्थापना रकम प्राप्त नभएमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा कार्यालय समयमा सम्पर्क गर्नुहुन।

आयोजना प्रमुख
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति