इच्छाकामना । इच्छाकामना गाउँपालिका वडा नं–१ कुलवाङका श्यामबहादुर चेपाङको परिवारलाई इच्छाकामना गाउँपालिकाले किरिया खर्चबापतको रकम दिएको छ ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँमा पुगेर उक्त रकम श्यामबहादुर र उनको पत्नीलाई संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । प्रतिमृतक २५ हजार रुपैयाँका दरले क्रिया खर्चबापतको रकम तत्काल सहयोग स्वरुप उपलब्ध गराइएको पालिका अध्यक्ष गुरुङले जानकारी दिए ।
इच्छाकामना १ को हात्तीवाङबाट ४५ मिनेटको पैदल दूरीमा मृतकको घरमा पुग्न सकिन्छ । एक बालिकाको घरमै र अन्य दुई जनाको भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
गत हप्ता श्यामबहादुरका तीन सन्तान ९ वर्षका नमुना चेपाङ, ११ वर्षका सञ्जय चेपाङ र १३ वर्षीय मनिता चेपाङको मृत्यु भएको थियो । मृत्युको प्रारम्भीक कारण च्याउ खाएको भनीए पनि परिवारले यसलाई अस्वीकार गरेको छ । आफूहरुले केही दिनदेखि च्याउ नखाएको वुवा श्यामबहादुरको भनाइ छ ।