कुरिनटार । शैक्षिक सत्र २०८२ को एसइई परीक्षामा सहभागी विद्यार्थीहरुको नतिजा अनुसार चितवनको इच्छाकामना गाउँपालिकाबाट सहभागी विद्यार्थीहरु मध्य ३७ प्रतिशत मात्र उर्तीण भएका छन् । मंगलबार राति राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार इच्छाकामना गाउँपालिका भरिका ११ वटा संस्थागत र सामुदायीक विद्यालयहरुबाट सहभागी ३२६ जना विद्यार्थी मध्य १२१ जना उर्तीर्ण भएका हुन् । जस अनुसार ३७.११ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।
नतिजा अनुसार सामुदायीक विद्यालयबाट २६७ विद्यार्थी सहभागी भएकोमा जम्मा ६५ जना विद्यार्थी पास भएका छन् । जस अनुसार सामुदायीक विद्यालयको उर्तीण प्रतिशत २४.३४ प्रतिशत छन् भने संस्थागत विद्यालयतर्फ ५९ जना विद्यार्थी सहभागी भएकोमा ५६ जना विद्यार्थी उर्तीण भएका छन् । जसअनुसार संस्थागत विद्यालय तर्फको उर्तीण नतिजा ९४.९१ प्रतिशत छ । समग्रमा संस्थागत विद्यालयतर्फको नतिजाले गर्दा इच्छाकामना गाउँपालिकाका एसइई उर्तीण विद्यार्थीहरुको नतिजा प्रतिशतमा बढेको देखिन्छ ।

यस्तै नतिजा अनुसार एसइईमा सहभागी ११ वटा संस्थागत र सामुदायीक विद्यालयहरु मध्यबाट प्रगती पाठशालाको नतिजा सार्वोत्कृष्ट देखिएको छ । उक्त विद्यालयबाट सहभागी ३० जना विद्यार्थी सहभागी भएकोमा सबै उर्तीण भएका छन् । साथै समग्र नतिजामा सबै सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयले अगाडी देखिन्छ । जसमा मुग्लिनमा रहेको ग्रीनफिल्ड बोर्डिङबाट ९३.७५ प्रतिशत र मस्र्याङदी शिक्षा सदनबाट ९४.९१ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् ।

यसैगरी समग्रमा सामुदायिक विद्यालयतर्फको नतिजा कमजोर देखिएकोमा रानीखोला मावि सिमलढापको नतिजा सामुदायिक विद्यालयहरु मध्य पहिलो स्थानमा छ । उक्त विद्यालयको नतिजा ३३.३३ प्रतिशत छ । उक्त विद्यालयबाट १८ जना विद्यार्थी सहभागी भएकोमा ६ जना उर्तीण भएका छन् ।
यता नतिजा अनुसार इच्छाकामना ३ मा रहेको माझगाउ मावि निल भएको छ । उक्त विद्यालयबाट १० जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएकोमा सबै फेल भएका छन् ।