मकैसिङ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर–१ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। आइतबार मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सना साकार, उपाध्यक्ष ललित अधिकारी, वडाध्यक्ष तोपमान गुरुङ तथा स्वास्थ्य शाखाका प्रमुख कुमार सुनारको उपस्थिति रहनुभएको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। पूर्ण खोप सुनिश्चितता कायम गर्दै बालबालिकालाई नियमित खोप सेवा उपलब्ध गराउने उद्देश्यसहित वडा नम्बर–१ लाई पूर्ण खोपयुक्त तथा दिगोपना सुनिश्चित वडा घोषणा गरिएको हो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दीपक तिमिल्सना साकारले बालबालिकाको स्वास्थ्य संरक्षणका लागि खोप कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले पूर्ण खोप सुनिश्चितता कायम राख्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।

उपाध्यक्ष ललित अधिकारीले स्वास्थ्य सचेतना अभिवृद्धिसँगै खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। स्वास्थ्य शाखा प्रमुख कुमार सुनारले नियमित अनुगमन तथा स्वास्थ्यकर्मी र समुदायबीचको समन्वयबाट पूर्ण खोप कार्यक्रमलाई दिगो बनाउन सकिने बताउनुभयो।
कार्यक्रममा सहभागी स्थानीयहरुले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रम प्रभावकारी रहेको धारणा व्यक्त गरेका थिए।