गोरखा।
गण्डकी गाउँपालिकामा गरिबी निवारणका लागि सञ्चालन गरिएको लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत नयाँ लघु उद्यमी सिर्जना गर्ने उद्देश्यले आयोजित ८ दिने उद्यमशिलता विकास तालिम (SIYB) सफलतापूर्वक सम्पन्न भएको छ।
वडा नं. १ देखि ४ सम्मका सहभागी उद्यमीहरूलाई लक्षित गरी मिति २०८३ साल बैशाख १५ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको उक्त तालिम वडा नं. २ को सभाहलमा आयोजना गरिएको थियो।तालिम समापन कार्यक्रम गण्डकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष यम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दिपक तिमल्सिना (साकार) प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने उपाध्यक्ष श्री ललिता अधिकारीको समेत विशेष उपस्थिति रहेको थियो। साथै वडा नं. ४ र ७ का वडा अध्यक्षहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
तालिममार्फत सहभागीहरूलाई उद्यमशिलता विकास, व्यवसाय सञ्चालनका आधारभूत सीप तथा स्वरोजगार सिर्जनाका विविध पक्षबारे व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले स्थानीय स्तरमा नयाँ उद्यमी उत्पादन गर्न तथा आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने विश्वास गरिएको छ।