बुंकोट, २९ फागुन । शहिदलखन गाउँपालिका ७ को बुंकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गर्ने तयारी गरिएको छ । वडा अध्यक्ष शरण श्रेष्ठको अध्यक्षतामा शुक्रवार उक्त विषयमा सरोकारवाला बिच छलफल भएको थियो ।
स्वास्थ्य चौकीको सेवा क्षेत्र भित्रका गर्भवती महिलाहरुको लक्षित संख्या मध्ये ९५ प्रतिशतले एक सय ८० वटा आईरन चक्की सेवन गरेमा, स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना गर्नुपर्ने,पूणर् स्तनपान गराउने आमाको संख्या ९० प्रतिशत भन्दा बढी हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

स्वास्थ्य संस्था रहेको वडा भित्र कुनैपनि बालवालिकामा कुपोषण नभएको, मातृशिशु तथा बाल्यकालिन पोषणको मात्रा पुरा गरेकोे लगायतका मापदण्ड पुरा गरेपछि मात्रै घोषणा गरिने शहिदलखन गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले बताए । ‘पालिका भित्रका अन्य स्वास्थ्य संस्था भन्दा बुङ्कोट स्वास्थ्य चौकी सुविधा सम्पन्न छ, त्यसैले पोषणमैत्री घोषणा गर्न लागिएको हो’ उनले भने ।
सरकारले तोकिएको मापदण्ड पुरा गरेका मध्ये एक स्थानीय तहको एउटा स्वास्थ्य संस्थालाई पोषण मैत्री घोषणा गर्ने कार्यक्रम अन्र्तगत शहिदलखनले बुंकोट स्वास्थ्य चौकीलाई घोषणा गर्न लागेको हो । शुक्रवार भएको छलफल कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख बिमला पुलामी, स्वास्थ्य चौकीका अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयम शेविकाहरु उपस्थित थिए । उनीहरुलाई पोषण मैत्री घोषणा गर्न ध्यान दिनुपर्ने पक्ष र अहिलेको सेवाको अवस्थाको बारेमा जानकारी गराइएको थियो ।