काठमाण्डौ, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मृगौला सम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताउनुभएको छ । विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले मृगौला सम्बन्धी विशेषज्ञ सेवाका लागि विज्ञहरु क्रियाशील रहनुभएको जानकारी दिनुभयो ।
पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा स्वदेशमै मृगौला सम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको उहाँको भनाई थियो । ‘मृगौलालाई रोगबाट कसरी बचाउन सकिन्छ र रोग लागिहालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउन सकिन्छ भन्ने यी दुई कुरामा हाम्रो ध्यान केन्द्रित छ’ दुई पटक मृगौला प्रत्यारोपण गराइसक्नुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो ।
मृगौला रोग जस्तो जटिलताबाट बच्न स्वस्थ्य जीवन यापनका लागि आग्रह गर्दै प्रधानमन्त्रीले यसबारेका प्रचारलाई अझ थप व्यापक बनाउनु पर्नेमा जोड दिनुभयो । ‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’ भन्ने नारासहित आज नेपालसहित विश्वभर विश्व मृगौला दिवस मनाईदैछ ।