काठमाण्डौ, २७ फागुन । नयाँ सरकार निर्माणका लागि नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुको दौडधुप फेरि बढेको छ । सर्वोच्च अदालतको फैसला पछि माओवादी केन्द्रको अध्यक्ष बन्नुभएका पुष्पकमल दाहाल प्रचण्डले पनि भेटघाट र छलफललाई तिब्र बनाइरहनुभएको छ ।
प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट हटाउने अभियानमा लाग्नुभएका प्रचण्डले लगातार काँग्रेस र जनता समाजवादी पार्टीका नेताहरूसँग भेटवार्ता गरिरहनुभएको छ ।
यसैक्रममा हिजोनेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा जानुभएको थियो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सरकारको समर्थनको लागि छलफल तथा परामर्शमा हुनुहुन्छ ।
नयाँ सत्ता समीकरणका लागि प्रतिनिधिसभामा १ सय ३८ सांसदको समर्थन जुटाउनु पर्छ संसदमा एमालेसँग १ सय २०, काँग्रेस सँग ६३, माओवादी केन्द्रसँग ५२, जनता समाजवादी पार्टीसँग ३४ सिट रहेको छ । संसदमा बहुमत भएको कारण एमालेलाई नयाँ समिकरण बनाउन सहज देखिएको छ भने माओवादी केन्द्रलाई सहमति जुटाउन अफ्ठेरो देखिएको छ । एमालेले पनि जसपा वा काँग्रेसमध्ये कुनै एक दलसँग समीकरण गर्नुपर्ने बाध्यता छ ।
जसपाले ओलीसँगको समीकरणका लागि सांसद रेशम चौधरीको रिहाइ, मधेश तथा थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता र संविधान संशोधनको शर्त राखेको छ ।