Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

घुमाउने पुल निर्माणका लागि उम्मेदवारको हस्ताक्षर

घुमाउने पुल निर्माणका लागि उम्मेदवारको हस्ताक्षर

इच्छाकामना न्युज

१७, फाल्गुण २०८२
घुमाउने पुल निर्माणका लागि उम्मेदवारको हस्ताक्षर
images

अमरराज नहर्की, तनहुँ । तनहुँको दमौलीदेखि चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड जोड्ने बुद्ध सिं मार्गअन्तर्गतको ‘घुमाउने पुल’ निर्माणका लागि तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवारहरूले सामूहिक लिखित प्रतिबद्धता व्यक्त गरेका छन् । घुमाउने पुल/बुद्ध सिं मार्ग तथा अन्य पुल सरोकार एवम् सङ्घर्ष समितिले शनिबार आयोजना गरेको वृहत् भेलामा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका उम्मेदवार भगवती न्यौपाने, रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले र नेकपाका उम्मेदवार विद्यानाथ ढकाललगायतले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

images
images

विगत ११ वर्ष अगाडि सम्झौता भएको १०५ मिटर लम्बाई र ११ मिटर चौडाइको यो पुल हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको र यही सुस्त गतिले पूर्ण हुन अझै ३३ वर्ष लाग्ने देखिएपछि स्थानीय बासिन्दाहरू आन्दोलित भएका हुन् । सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापा मगरले आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र स्थगित रहेको पुलको निर्माण कार्य तीव्र रुपमा सञ्चालनमा नआए पुनः सशक्त आन्दोलन सुरु गरिने बताउनुभयो ।

प्रतिबद्धता पत्रमा हालको पुलको संरचना कमजोर र जोखिमयुक्त देखिएकाले २०८२ साल भित्रै यसको विस्तृत परियोजना प्रतिवेदन प्रक्रिया अगाडि बढाउने र २०८३÷८४ सम्ममा नयाँ ठेक्का प्रक्रिया सुरु गरी निर्धारित अवधिभित्रै सम्पन्न गर्ने उल्लेख गरिएको छ । साथै बुद्ध सिं मार्ग सञ्चालनका लागि आवश्यक पर्ने अन्य खोलाहरू सुँढे, ढाँड, खानी, बाखे र भुत खोलामा समेत मोटरबेल पुल निर्माणका लागि आगामी आर्थिक वर्षहरूमा बजेट विनियोजन गर्न विजयी उम्मेदवारले नेतृत्व लिने र अन्य दलले ऐक्यबद्धता जनाउने सहमति भएको छ । दमौलीलाई चितवनसँग जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा लिइएको यस पुलको सम्झौता विक्रम संवत् २०७० असार २८ गते भएको थियो ।

सङ्घर्ष समितिले २०८१ माघ १४ गते जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदा समेत पुल निर्माणको ठोस आधार नदेखिएपछि उम्मेदवारहरूलाई नै हस्ताक्षर गराएर लिखित प्रतिबद्धता माग गरेको हो । गण्डकी प्रदेशको राजधानी र चितवनलाई छोटो दुरीमा जोड्ने यो मार्ग र पुल निर्माण हुनु अति जरुरी रहेको सरोकार समितिले जनाएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने निर्माण सुरु भएको ११ वर्ष बितिसक्दा पनि पुरा हुन सकेको छैन । यो पुल पुरा भएमा दमौलीबाट नारायण गढपुग्न २३ किलोमिटर छोटो हुन्छ । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०८२ आइतवार - १०:२३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology