रत्ननगर । चितवन क्षेत्र नं १ का उमेदवार धनबहादुर गुरूङले अर्थतन्त्रलाई बलियो बनाउँदै कृषि र पशुपालनमार्फत रोजगारी सिर्जना गर्ने गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो नेपाल पार्टीबाट उमेदवार बनेका गुरूङले किसानहरुलाई कृषि सिंचाइमा विद्युत् महसुल छूट गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । गुरूङले किसानलाई सुपथ मूल्यमा उन्नत जातको बीउबिजन, मल, कीटनाशक औषधि, प्राविधिक सहयोगलगायतका अन्य सहयोग प्रदान गर्ने, चितवन जिल्लालाई दूध उत्पादनमा प्रोत्साहित गर्न २ देखि ५ रूपैयाँ प्रतिलिटर अनुदानको व्यवस्था र मिल्क होलिडेलाई पूर्ण निरूत्साहित गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।
घोषणापत्रमा उनले सौराहाको पर्यटन विकासलाई थप उचाइमा पु¥याउने गरी योजना सार्वजनिक गरेका छन् । चितवनको प्रसिद्ध पर्यटकीयस्थल सौराहलाई दिगो पर्यटनको अवधारणामा विकास गर्न थप व्यवस्थित, पर्यटक संख्यामा उल्लेखनीय वृद्धि, थप रोजगारीको सिर्जना, आयआर्जनमा वृद्धि गरिनेलगायतका योजना उनको घोषणापत्रमा उल्लेख छ ।
वृद्धवृद्धाहरुका लागि डाक्टर, नर्सको व्यवस्थासहित सुविधासम्पन्न वृद्धाश्रम आवासको व्यवस्था गरी निःशुल्क वृद्धाश्रम र सार्वजनिक स्थलहरुमा बाल उद्यान, जेनजी पार्क निर्माण, जग्गाको अवस्था, भूगोल, प्रयोग, माटोको प्रकार, बसोवासको घनत्व र भविष्यमा हुन सक्ने प्रयोगको आधारमा वैज्ञानिक तवरले जग्गाको वर्गीकरण गर्ने गरी घोषणापत्र तयार गरेको गुरूङले बताए ।
नेपालमा विद्यमान वन तथा निकुञ्जलगायत अन्य निकायहरुको ऐन कानुन, नियम देशको विकास निर्माणका लागि प्रतिकूल देखिएकोले सो ऐन कानुनमा विशेष संशोधन गर्न पहल गर्ने, विद्यमान शिक्षा नीतिलाई परिष्कृत गर्दै व्यावहारिक शिक्षाप्रणालीको विकास गर्ने, मुख्य तथा शाखा बाटोहरुमा विद्युतीय तारहरु भूमिगत गर्ने, विद्यार्थीहरुलाई प्रविधिसँग जोडेर सिकाइसँगै रोजगारी सिर्जना गरी स्वदेशमै बस्ने व्यवस्था मिलाउने, व्यवस्थित सहरीकरणका साथै दिगो विकासमा जोड दिने, धार्मिकस्थलहरुको संवद्र्धन र संरक्षण गर्ने, उत्पीडित वर्ग, अल्पसंख्यक र गरिबीको रेखामुनि रहेकाहरुको हकअधिकार सुनिश्चितताका लागि अर्थपूर्ण कदम चाल्ने घोषणपत्रमा उल्लेख गरिएको छ ।
आफूले गर्न सक्ने विषयहरुलाई मात्र घोषणापत्रमा उल्लेख गरेको भन्दै उमेदवार गुरूङले सुशासन, समृद्धि, आर्थिक नीति, सामाजिक नीति र न्यायलगायतका विषयहरुलाई पनि समावेश गरेको बताए । सुशासनतर्फ उनले राष्ट्रिय सहमतिको आधारमा परराष्ट्रनीतिको तर्जुमा र सञ्चालन गर्ने, राज्य सञ्चालनमा शक्ति पृथकीकरण र शक्तिसन्तुलनको वास्तविक अभ्यास गर्ने, ई–गभर्नेन्स अनलाइनबाट चुस्तदुरूस्त र स्मार्ट सेवा प्रदान गर्ने उल्लेख गरेका छन् ।
समृद्धि र आर्थिक नीतितर्फ सुरक्षा, अर्थतन्त्र, ऊर्जा र कृषि नीतिहरु समयानुकूल बनाउने, अधिकतम स्वदेशी पुँजीलाई परिचालन गर्दै विदेशी लगानीलाई आकर्षित गर्ने, पर्यटन र जलविद्युत्को माध्यमबाट रोजगारी सृजना गर्ने, गाँस, बासको व्यवस्था गर्ने, सन् २०३० देखि २०३५ सम्ममा ५ हजार मेगावाट बिजुली निर्यात गरी वार्षिक ५ खर्ब आम्दानी गर्ने लक्ष्य रहेको गुरूङले घोषणापत्रमा जनाएका छन् ।
सामाजिक न्याय र नीतितर्फ वृद्ध, अल्पसंख्यक, महिला र अपाङ्गताको सामाजिक सुरक्षा स्पष्ट पार्ने, सुकुमबासी र विस्थापितको पुनर्उत्थान गर्ने, प्रकृतिको भूगोल र मानवीय भूगोल सुहाउँदो योजनाबद्ध एकीकृत पूर्वाधार निर्माण गर्ने तथा जातीय, भाषिक, धार्मिक, लैङ्गिक, वर्गीय विभेदको अन्त्यका लागि प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उनको घोषणापत्रमा उल्लेख छ ।