Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

पूर्वराजा ज्ञानेन्द्र शाह चुनावको विपक्षमा, निकास नभई संकट ल्याउने दाबी

पूर्वराजा ज्ञानेन्द्र शाह चुनावको विपक्षमा, निकास नभई संकट ल्याउने दाबी

images

इच्छाकामना न्युज

७, फाल्गुण २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह चुनावको विपक्षमा, निकास नभई संकट ल्याउने दाबी
images

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन विरोधी शक्ति र आवाजहरूको स्वामित्व लिँदै त्यसअघि राष्ट्रिय सहमति र समझदारीमा जोड दिएका छन् ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बुधबार अपराह्न जारी भिडियो सन्देशमा पूर्वराजा शाहले अहिलेको निर्वाचनले निकास नभई द्वन्द्व, अशान्ति र खिचातानी ल्याउन सक्ने दाबी गरेका छन् ।

‘प्रजातान्त्रिक प्रणालीमा प्रतिनिधि छनोटको आवधिक निर्वाचन एक स्वाभाविक प्रक्रिया भए तापनि यतिखेरको आमजनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ,’ उनले भनेका छन्, ‘निर्वाचनपछि कुनै द्वन्द्व, अशान्ति र खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखेर राष्ट्रिय सहमति र सबैलाई समेटेर जाने समझदारी बनाएर मात्र निर्वाचनमा जाँदा नै त्यसले सही बाटो समात्ने थियो ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईं निर्वाचन बिथोल्ने गतिविधि गरेकोमा प्रहरी हिरासतमा छन् ।

पूर्वराजा शाहलाई समर्थन गर्दै आएका कम्युनिस्ट नेताहरू ऋषि कट्टेल र धर्मेन्द्र बाँस्तोलालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

यही सन्दर्भमा पूर्वराजा शाहले पनि निर्वाचनको विपक्षमा आफूलाई प्रस्तुत गरेका छन् ।

पूर्वराजा शाहले प्रजातन्त्रमा राज्य व्यवस्था र प्रक्रिया संवैधानिक मान्यताअनुरूप चल्नु उपयुक्त हुने धारणा व्यक्त गरेका छन् ।

देश अहिले संकटमा परेको दाबी गर्दै उनले विगतका आन्दोलन र परिवर्तनको समीक्षा गर्नुपर्ने पनि उनले माग गरेका छन् ।

‘सिंगै मुलुक यतिवेला अस्वाभाविक छटपटीको भुमरीमा फसेको छ । देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस हरेक देशभक्त नेपालीले गरिरहेका छन्,’ उनले भनेका छन्, ‘विगतमा अनेकौँ नाममा आन्दोलन र संघर्ष भए । संघर्षको आडमा परिवर्तन पनि गरिए । सबै प्रकारका परिवर्तनले नेपाल र नेपालीलाई के दियो भन्ने आत्मसमीक्षा गर्नुपर्ने वेला आएको छ ।’

नेपालको शत्रु अस्थिरता र विपन्नता भए पनि अहिले एक नेपालीले अर्कालाई बैरी ठान्ने अवाञ्छित संस्कृतिलाई बढावा दिइएको उनले आरोप लगाएका छन् ।

उनले जनताको समग्र हित हुने तथा विश्वसामु नेपालीको उच्च शिर हुने व्यवस्था नै प्रजातान्त्रिक व्यवस्था नेपाललाई सुहाउने बताएका छन् ।

‘कुनै व्यवस्थाको राम्रा र असल पक्ष टिप्नु र राख्नुपर्छ । जुनै व्यवस्थाको नराम्रो र खराब पक्ष हुन्छन्, त्यसलाई फाल्नुपर्छ,’ उनले भनेका छन् ।

उनले नेपालको धरातलीय यथार्थमा उभिएर प्रजातन्त्रको प्रयोग, परीक्षण र प्रशोधन गर्दै जानुपर्नेमा जोड दिएका छन् ।

साथै पूर्वराजा शाहले झापाबाट केही दिनअघि काठमाडौं फर्किँदा स्वागतमा उभिएका समर्थकलाई पनि धन्यवाद दिएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८२ बिहिवार - ०७:५७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology