काठमाडौं । पार्टीको औपचारिक घोषणापत्र नआउँदै एमाले अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी ओलीले मंगलबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
ओलीको प्रतिबद्धतापत्रमा राष्ट्रिय र स्थानीय मुद्दा चार बुँदा र ४२ वटा उपबुँदामा समेटिएको छ ।
घरदैलोको क्रममा दमक नगरपालिका-९, अमरसिंह चोकमा आयोजित कार्यक्रममा ओलीले देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियताको सवालदेखि झापा ५ को विकासको सन्दर्भ उल्लेख गरेर प्रतिबद्धतापत्र ल्याएका हुन् ।
ओलीले झापा ५ मा आव ०८२/८३ मा बजेट विनियोजन भई हाल रोकिएका र अधुरा विकास निर्माणका काम पूरा गर्न सशक्त पहलकदमी गर्ने वाचासमेत गरेका छन् ।
भूमिहीन, दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने कार्यलाई तीव्रता दिने प्रतिबद्धता छ ।
आदिवासी, जनजाति, दलित, सन्थाल, मुस्लिमलगायत पछाडि पारिएका सबै समुदायका नागरिकको जीवनस्तर उकास्ने कार्यक्रम ल्याउने, सबै ग्राभेल सडक कालोपत्रे गर्ने, अन्न, फलफूलका लागि शीतभण्डार स्थापना गर्नेलगायत प्रतिबद्धता छ ।
प्रत्येक पालिकामा एक-एक सुविधासम्पन्न खेलमैदान निर्माण र क्रमशस् वडास्तरसम्म खेलमैदान विस्तार गर्ने प्रतिबद्धता ओलीको छ ।
त्यस्तै, ओलीले सबै सामुदायिक विद्यालय, क्याम्पसलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउने, कृषि क्षेत्रमा सिँचाइ पुर्याउने, कृषिलाई आधुनिकीकरण, बजारीकरण र यान्त्रीकरणमा पहल गर्ने, जैविक मल कारखाना स्थापना गर्ने, खानेपानीका सबै अधुरा आयोजना पूरा गर्ने प्रत्येक घरपरिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध गर्न पहल गर्ने उल्लेख गरेका छन् ।
यसबाहेक सबै नदीमा आवश्यकताअनुसार तटबन्ध निर्माण गर्ने, लामो समयदेखि अलपत्र परेको दमक-चिसापानी सडक पुनस् ठेक्का लगाउँदै निर्माण सम्पन्न गर्नेलगायत विषय प्रतिबद्धता–पत्रमा भनिएको छ ।
विगतमा अलपत्र रहेका आयोजना पूरा गर्ने ओलीले प्रतिबद्धता जनाएका छन् ।
लामो समयदेखि अलपत्र परेको कमल ५ स्थित आदिवासी रंगशाला निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । यो रंगशाला ०७२ सालमा नाम परिवर्तन हुँदै मदन भण्डारी नामांकन गरेपछि काम अघि बढ्न सकेको थिएन । दमक ३ मा प्रस्ताव गरिएको मदन भण्डारी रंगशाला निर्माणमा पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
ओलीको प्रतिबद्धता पत्रमा दमक ३ मा रहेको बिजनेस टावर (भ्युटावर) सञ्चालनमा ल्याउँदै आसपासका जग्गामा ल्यान्डपुलिङ गर्न पहल गर्ने उल्लेख छ ।
दमक, कमल र गौरादहको संगमस्थलमा बन्ने भनिएको चीन–नेपालमैत्री औद्योगिक पार्क निर्माण कार्यसम्पन्न गर्ने ओलीको प्रतिबद्धता–पत्रमा उल्लेख छ ।
यो पार्क ओलीले पाँच वर्षअघि शिलान्यास गरेका थिए । तर, यसको काम अगाडि बढ्न सकेको छैन ।
निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको सभागृह सञ्चालनमा ल्याउने ओलीले प्रतिबद्धता गरेका छन् ।
एक करोड खर्च गरेपछि अलपत्र परेको १७ अर्बको देशकै विशाल बुद्धको मूर्तिसहितको विराट बुद्धपार्क निर्माण गर्न पहल गर्ने उल्लेख छ ।