Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रास्वपाका उम्मेदवारलाई अख्तियारको उन्मुक्ति

रास्वपाका उम्मेदवारलाई अख्तियारको उन्मुक्ति

इच्छाकामना न्युज

५, फाल्गुण २०८२
रास्वपाका उम्मेदवारलाई अख्तियारको उन्मुक्ति
images

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन बोर्डमा रहँदा आर्थिक अनियमितता गरेको आरोपमा छानबिन गरिरहेका डा. धनन्जय रेग्मीको अनुसन्धानसम्बन्धी फाइल तामेलीमा राखेको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट स्याङ्जा क्षेत्र नं. १ का उम्मेदवार रहेका रेग्मीमाथि लागेको आरोपमा लामो समयदेखि मौन रहँदै आएको अख्तियारले रेग्मीको आर्थिक अनियमिताको फाइल तामेलीमा राखेको पाइएको छ ।

images
images

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत हुँदा रेग्मीले माछापुच्छ्रे बैंकमा रहेको दीर्घकालीन कर्जा छोटो समयमा चुक्ता गरेको र सिर्जना श्रेष्ठले निजको खातामा ३ करोड शंकास्पद रकम जम्मा गरिदिनुका साथै, मर्यादाविपरीतको कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा उनीसँग अख्तियारले पटकपटक बयान लिएको थियो । अख्तियारको यो निर्णयसँगै अकूत सम्पत्ति आर्जनको मुद्दाबाट तत्कालका लागि उनले राहत पाएका छन् ।

चार वर्ष अघि त्रिभुवन विमानस्थल भन्सारका कर्मचारीमाथि हातपात गरेर विवादमा मुछिएका तथा तत्कालिन नेपाल पर्यटन बोर्डका सिइओ डा. रेग्मीले विभिन्न आर्थिक अनियमितता गरेको एउटा प्रतिवेदनले ठहर गरेको थियो । बोर्डका तत्कालिन उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा गठित छानबिन समितिले तत्कालिन पर्यटनसचिव महेश्वर न्यौपानेलाई १०बुँदे निष्कर्ष एवं सुझावसहितको छानबिन प्रतिवेदन बुझाउदै गर्दा उनी आर्थिक अनियमिततामा मुछिएको उल्लेख थियो । सोही प्रतिवेदनलाई आधार बनाएर परेको उजुरीमा अख्तियारले छानबिन अगाडि बढाएको थियो ।

२०७८ सालमा लन्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम)मा सहभागी भएर फर्किँदा रेग्मीले ल्याएको ६ बोतल ड्युटी फ्री ह्विस्की विमानस्थल भन्सारका कर्मचारीले जफत गर्न खोजेपछि विवाद भएको थियो  । उक्त घटनाको सत्यतथ्य छानबिन गर्न बोर्डले समिति गठन गरेको थियो  । विदेशबाट आउँदा एकजना व्यक्तिले एक बोतल मात्र ड्युटी फ्री मदिरा ल्याउन पाउने व्यवस्था छ  । तर, उनले विदेशी कोटाभन्दा बढी मदिरा भन्सार छली गरेर अवैध रूपमा भित्र्याउन खोजेको र ड्युटीमा रहेका भन्सारका कर्मचारीसँग भएको व्यवहार सहनयोग्य नभएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको थियो ।

बोर्डको कार्यकारी समिति र बजेट तथा कार्यक्रमले डब्लुटिएमजस्ता अन्तर्राष्ट्रिय मेलाहरूमा सहभागी हुँदा कम्तीमा १० जना व्यवसायीको सहभागिता सुनिश्चितता गर्न दिएको निर्देशन पनि रेग्मीले नटेरेको समितिको निष्कर्ष छ  ।

उनले आवश्यकता, औचित्य र प्रभावकारिता विश्लेषण नगरी डब्लुटिएममा ६ पर्यटन व्यवसायी मात्र सहभागी गराएर एक करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको प्रतिवेदनमा उल्लेख गर्दै आर्थिक अनियमिततामा संलग्न भएको जनाएको थियो । बोर्डको निर्देशनविपरीत गरिएको सो खर्चलाई कानुनसम्मत मान्न नसकिने छानबिन समितिको निष्कर्ष छ  ।

सिइओ रेग्मीले जियोग्राफिकल इन्फर्मेसन सिस्टम (जिआइएस) परियोजना कार्यान्वयन गर्दा पनि आर्थिक अनियमितता गरेका स्रोतको दावी छ । उनले बोर्डको कार्यकारी समितिबाट पारित बजेट तथा कार्यक्रमले गरेको व्यवस्थाअनुरूप कार्यसम्पादन नगरेको र तोकिएभन्दा कम काम गर्ने गरी त्रिभुवन विश्वविद्यालयसँग चार करोड ७३ लाख ४८ हजारमा सम्झौता गरेर बोर्डलाई आर्थिक नोक्सान गरेको हुन सक्ने प्रतिवेदनमा उल्लेख थियो  । यस्तै, कुनै पनि ठूलो लगानीमा कार्यक्रमहरू सञ्चालन गर्दा त्यसको सम्भाव्यता, अध्ययन र उपयोगको रणनीति नै नबनाई अन्धाधुन्ध खर्च गरेर अपचलन गरेको समेत उल्लेख थियो ।

images
प्रकाशित मिति :फाल्गुण ५, २०८२ मंगलवार - ११:०२:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology