Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चुनावी अभियानलाई तिव्रता दिदै प्रताप गुरूङ घरदैलोमा व्यस्त

चुनावी अभियानलाई तिव्रता दिदै प्रताप गुरूङ घरदैलोमा व्यस्त

इच्छाकामना न्युज

२०, माघ २०८२
चुनावी अभियानलाई तिव्रता दिदै प्रताप गुरूङ घरदैलोमा व्यस्त
images

भरतपुर । चितवन क्षेत्र नम्बर २ मा नेकपाबाट उमेदवार बनेका प्रताप गुरूङ (मौसम)ले चुनावी अभियान र घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । आममतदातासमक्ष स्थानीयस्तरमै बसेर भोगेका समस्या र समाधानका उपायसहित उपस्थित भएका गुरूङले आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाइरहेका छन् ।

images
images

नेपाली कम्युनिस्ट पार्टीबाट उमेदवार बनेका उनले पार्टी र सङ्गठनभित्रकै समस्याका कारण तत्कालीन नेकपा माओवादी पार्टी २०७० सालमा संविधानसभाको निर्वाचनपछि क्रमशः खुम्चिँदै आएको बताउँदै विगतमा भएका समस्यालाई हल गर्ने गरी पहिलोपटक प्रतिनिधिसभाको निर्वाचनमा होमिएको बताएका छन् ।

‘२०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा पहिलो शक्ति भए पनि पार्टीभित्रको फुट र विभाजनका कारण क्रमशः खुम्चिँदै गएको पार्टी २०८२ सालको निर्वाचनसम्म आइपुग्दा शान्ति प्रक्रियापछिकै माओवादीको अवस्थामा आइपुगेको छ’, गुरूङ भन्छन्, ‘किनकि यसपटक विचार र सिद्धान्त मिल्ने कम्युनिस्टहरु एकै ठाउँमा उभिएका छन् ।’

१९ दल एकै ठाउँमा उभिएर एक जना साझा उमेदवार चुनावी प्रक्रियामा सहभागी हुँदा त्यसको प्रत्यक्ष फाइदा लिनसक्ने दाउमा छन्, उनी । इच्छाकामनामा जन्मिएका गुरूङ आफूलाई चितवनको भूगोल र यहाँका जाति, जनजातिबारे राम्रो ज्ञान भएको दाबी गर्छन् । ‘इच्छाकामनामा जन्मिएर कालिकामा हुर्किएँ, भरतपुरबाट उच्च शिक्षा हासिल गरेँ’, उनी भन्छन्, ‘संयोगले मेरो अहिलेको निर्वाचन क्षेत्र पनि यिनै भूगोल परेको छ । त्यसकारण मलाई यो निर्वाचन अलि सहज छ ।’

संसदीय निर्वाचनमा पहिलोपटक सामेल भए पनि स्थानीय तहको निर्वाचनमा भने उनले अनुभव लिइसकेका छन् । इच्छाकामना गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा चुनावी मैदानमा उत्रिए पनि उपविजेता बनेका उनले तिनै निर्वाचनबाट धेरै पाठ सिक्ने मौका पाएको बताउँछन् ।

चुनावी अभियानकै क्रममा उनले मनोनयन दर्तापछि इच्छाकामना गाउँपालिकाको वडा नं–१ र २, कालिका नगरपालिकाको वडा नं–७, १० र ११ तथा भरतपुर महानगरपालिकाको वडा नं–१, ४ र ५ मा सम्पर्क कार्यालय तथा घरदैलो गरिसकेका छन् ।

विगतका निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गर्दा त्यसबाट असन्तुष्ट पक्षले तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रलाई नरूचाएको उनले बुझेका छन् । तसर्थ, यसपटक सबै दलको एकल उमेदवार भएपछि आफ्ना दलीय मतदाताले ढुक्क भएर आफ्नै उमेदवारलाई मतदान गर्न पाउने मौका मिलेको उनी बताउँछन् ।

‘हिजोका दुवै निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल भएको थियो । जहाँ यी दुई दलबीच कुनै पनि विचार र सिद्धान्त मिल्दैन’, उनी भन्छन्, ‘विपरीत सिद्धान्त बोकेर हिँडेको दलबीच चुनावी तालमेल गर्दा थुप्रै कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका थिए, त्यसैको परिणाम पार्टीले अपेक्षा पूरा गर्न सकेन ।’

आज एकल उमेदवार मैदानमा उत्रिँदा भेटेकाजतिले सकारात्मक प्रतिक्रिया दिएका उनले बताए । ‘घरदैलोमा जाँदै गर्दा पहिलेको भन्दा धेरै मत सुरक्षित भएको पाएँ’, उनी भन्छन्, ‘किनकि मतदाता पनि आफूले रोजेको उमेदवारलाई मतदान गर्न पाउँदा खुसी छन् ।’

यसअघिका दुईवटा निर्वाचनमा अस्वाभाविक मतान्तरले चुनाव जितेका रवि लामिछाने र अधिकारकर्मी मीना खरेल उनीसँग चुनावी प्रतिस्पर्धामा छन् । संसदीय निर्वाचनमार्फत दुईपटकसम्म गृहमन्त्री बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति लामिछाने विभिन्न समस्यामा जेलिइरहेको हुँदा उनको राजनीतिक यात्रा अन्योल रहेको फाइदा आफूले लिनसक्नेमा उनी विश्वस्त छन् ।

नेपाली कांग्रेसबाट उमेदवार बनेकी मीना खरेल पनि यसअघिको निर्वाचनमा कांग्रेसभित्र विद्रोह गरेर हिँडेको हुँदा उनीप्रति असन्तुष्ट पक्षको मत आफूले तान्न सक्ने गुरूङको दाबी छ । नेकपा एमालेबाट उमेदवार बनेका अस्मिन घिमिरेको मतसमेत विचार र सिद्धान्तको हिसाबले आफूलाई आउन सक्ने उनले आकलन गरेका छन् ।

त्यसो त, चितवन क्षेत्र नं–२ मा आदिवासी जनजातिको मत धेरै रहेको हुँदा त्यसले पनि आफ्नो पक्षमा मत तान्न सक्नेमा उनी ढुक्क छन् । भरतपुरमा मिश्रित समुदाय भए पनि कालिका र इच्छाकामनाका अधिकांश गाउँमा आदिवासी जनजातिको बसोवास छ ।

images
प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - १०:२०:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology