देवघाट, २४ फागुन । तनहुँको देवघाट गाउँपालिकाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अचम्मको प्रतियोगिता आयोजना गरेको छ। गाउँपालिकाले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना श्रीमान् बोकेर श्रीमती दौडने जोडी दौड प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगितामा विष्णु अधिकारी र पदम अधिकारीको जोडी प्रथम भएको छ। एक सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा श्रीमतीले, श्रीमानलाई बोकेर दौडिने गरी भएको प्रतियोगितामा गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो , सीता लामिछाने क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तेस्रो भएका छन् । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १४ जोडीले भाग लिएको गाँउपालिका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।
जिल्लामा पहिलो पटक भएको श्रीमान् बोकेर दौडिने प्रतियोगिता एक सय मिटरको दौडको रहेको थियो । महिलाहरु शारिरिक र मानसिक रुपमा पुरुष सरह सक्षम भन्ने सन्देश दिनका लागि प्रतियोगिता गरिएको अध्यक्ष थापाले बताउनुभयो । प्रतियोगिताका विजेताललाई राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले, गाँउपालिका अध्यक्ष थापा, उपाध्यक्ष विमला थापाले संयुक्त रुपमा शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।