Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनीको खानी गुफालाई संरक्षण गरी जियो पार्कको रुपमा विकास गर्नुपर्छः भू–गर्भविद् डा. पौडेल

आँबुखैरेनीको खानी गुफालाई संरक्षण गरी जियो पार्कको रुपमा विकास गर्नुपर्छः भू–गर्भविद् डा. पौडेल

इच्छाकामना न्युज

१३, आश्विन २०७७
आँबुखैरेनीको खानी गुफालाई संरक्षण गरी जियो पार्कको रुपमा विकास गर्नुपर्छः भू–गर्भविद् डा. पौडेल
images

तनहुँको आँबुखैरेनी गाउँपालिका २ मा पर्ने खानी गुफा कुनै बेला तामाखानीको रुपमा रहेको थियो । सो खानीबाट पहिले पहिले तामा उत्खनन् गर्ने गरेको इतिहासहरु पाईन्छ । पछिल्लो समय उक्त स्थललाई पर्यटन स्थलको रुपमा विकास गर्नका लागि आँबुखैरेनीका स्थानीयहरु लागि परिरहेका छन् । यहि बेला केहि दिन देखि आँबुखैरेनी र आसपासको भौगलिक अवस्थाका बारे अध्ययन अवलोकनका लागि भू–गर्वविद्को समूह आँबुखैरेनीमा रहिआएका छन् । यसैको अवसरमा उक्त टोलीले गत बुधबार गुफाको अध्ययन अवलोकन गरेका छन् । टोलीको अवलोकन पछि सोहि सेरोफेरोमा रहेर नेपाल भौगर्भिक समाजका निवर्तमान अध्यक्ष समेत रहनुभएका त्रिभुवन विश्वविद्यालय अन्तर्गत भू–गर्भशास्त्र केन्दीय विभागका प्रध्यापक भू–गर्भविद् डा. कविराज पौडेल सँग इच्छाकामना न्युजका लागि इन्द्रमान परियारले कुराकानी गर्नुभएको छ । प्रस्तुत छ सोहि कुराकानीको सम्पादित अंशः
–परिचित हुने सु–अवसर मिल्यो दिलै देखि यहाँलाई स्वागत गर्न चाहन्छु । भूगर्भविद् डा. कविराज पौडेल र आँबुखैरेनीको साईनोको बारेमा थोरै बताईदिनुहुन्छ कि ?
धन्यवाद , मेरो विद्यावारिधी (पि.एच.डी.) अनुसन्धानको केन्द्र विन्दु हो आँबुखैरेनी क्षेत्र । त्यसैले जन्मभूमि गुल्मी, कर्मभूमी त्रि.वि. र विद्या आर्जन भूमि आँबुखैरेनी र आसपास रहेको छ । यहाँको भूगोल, नदीनाला, चट्टानका पत्र पत्रहरु र माटो सबैसँग मेरो अगाध प्रेम छ । यहाँका स्थानीय बासिन्दा नपुगेका ठाउँहरुमा समेत पुगेको छु । भौगर्भीक नक्साङ्कन जस्तो गहन र जटिल कार्य गर्दा यहाँका घरदैलोमा बिताएका क्षणहरु मेरो मानस पटलमा कुँदिएका छन् । त्यसैले यो भूमि प्रति मेरो ज्यादै श्रद्धा र मायाँ छ ।
–भू–गर्भ केलाई भनिन्छ ? भू–गर्भ शास्त्र भनेको के हो ?
पृथ्वीको समग्र अध्ययन नै भू–गर्भ विज्ञान हो । यसमा पहाडको उत्पति, खनिजको अवस्था, चट्टानको संरचना, माटो बन्ने प्रक्रिया, भूमिगत जल लगायत भौगर्भीक विपद्हरु जस्तै भूकम्प, पहिरो, बाढी, हिमताल, बिस्पोटन आदीको अध्ययन, अनुसन्धान, वस्तुस्थिती भौगर्भीक प्रक्रियाहरुको वर्णन हो ।
–सरोकारवालाहरुलाई बाहेक आम मानिसहरुलाई पनि भू–गर्भ सम्बन्धि ज्ञान हुनु जरुरी छ ?
जरुरी छ । कुन ठाउँ बलियो छ वा कमजोर छ, को आधारमा बस्ती बस्ने ठाउँको छनौंट हुन्छ, चट्टानको प्रयोग मानिसले सदियौं देखि गर्दै आएका छन् । घर छाउन, ढुङ्गा छाप्न, भौतिक संरचना निर्माण गर्न, गाह््रो लगाउन, बाढी नियन्त्रण गर्न आदीमा चट्टान छनौंट गरिन्छ । हँसिया, खुकुरीमा धार लगाउन, जाँतो बनाउन समेत चट्टान चाहिन्छ । उर्वरा माटोको पहिचान गर्न, रातो माटो, सेतो माटो खोज्न र प्रयोग गर्न लगायत खनिज सम्बन्धि ज्ञान र प्रयोग गर्न समेत भू–गर्भको ज्ञान आवश्यक छ ।
–भू–गर्भमा रहेका पदार्थहरु मध्ये आम मानिसलाई लाभ हुने र हानी हुने वस्तुहरु के के हुन् ?
खनिज, चट्टान, माटो सबै लाभ हुने वस्तुहरु हुन् । युरानियम जस्ता रेडियोधर्मी खनिजहरु रहेका ठाउँ स्वास्थ्यका लागि जोखिम हुन सक्छन् ।
–स्थानीय भुगोललाई भन्नु पर्दा आँबुखैरेनी आसपासको भू–बनोटको अवस्था कस्तो छ ? विगत कस्तो थियो होला ?
आँबुखैरेनी वरपर रहेका चट्टानहरु कमजोर देखि बलिया सम्मका छन् । कमजोर चिउरे ढुङ्गा देखि बलिया दर्शन ढुङ्गा सम्म यहाँ पाईन्छन् । कुन ठाउँमा कस्ता चट्टान छन्, जान्न मैले सन् २०१४ मा तयार गरेको यस क्षेत्रको भौगर्भिक नक्सा हेर्नु भयो, भने सबै छर्लङ्ग देखिन्छ । यहाँका चट्टानहरु नागवेली जस्तै बाङ्गिएका, घुमेका र फैलिएका छन् । मस्र्याङ्गदीको दायाँ–बायाँ ठूला–ठूला टारहरुमा नदीले थुपारेको बलौटे माटो छ । जुन माटोको भित्री सतहमा भने चट्टान नै फैलिएका छन् ।
–भर्खर यहाँको उपस्थितीमा अवलोकन, अध्ययन गरिएको आँबुखैरेनी बजार नजिकै रहेको खानी गुफा बारे के भन्नु हुन्छ ? उत्खनन् गरीएको बस्तु, त्यसमा प्रयोग गरीएको औंजार र समय थाहा पाउन सकिएला ?
वास्तवमा यो खानी गुफा प्राचिन समयमा तामाको धाऊ निकाल्न खनिएको ठाउँ हो । यस क्षेत्रमा अहिले पनि तामाको सम्भावना छ । चट्टानमा टाँसिएको निलो, हरियो दागहरुले तामा रहेको पुष्टी हुन्छ । उक्त तामा खानी पृथ्वी नारायण शाहको पालादेखि राणा शासनको अन्त्य सम्म रहेको देखिन्छ । खानी खन्न तत्कालिन समयमा केन्द्रिय सरकारले आह्वान गर्ने र स्थानीय बासिबाट उक्त कार्य गर्ने इतिहास छ । खानी खने वापत राज्यले कामदारलाई केही पारिश्रमिक समेत दिने गरेको बुझिएको छ । प्राय ः मगर, गुरुङ्ग समुदायका मानिसहरु घरको कृषि काम सके पछि खानी खन्ने गरेको इतिहास छ । खानी खन्ने हतियारमा नितान्त प्राचिन उपकरणहरु जस्तै गल, खन्ति, कोदालो, सावेल, छिनो, हतौंडी, घन आदीको प्रयोग गरिन्थ्यो ।
–आँबुखैरेनी कै आसपासमा विगतमा उत्खनन् भएका स्थान र उत्खनन् हुन बाँकी रहेका स्थानहरुको बारेमा जानकारी भए बताई दिनुहोस न् ?
आँबुखैरेनी र अदुवाखर्कको बिच भाग बाहेक अन्य ठाउँको अभिलेख छैन् । तर गोरखाको ग्याजी क्षेत्रमा भने प्रसस्त तामा खानी खनेको प्रमाणहरु छन् ।
–यो स्थान (खानी गुफा) लाई के गरेमा संरक्षण र प्रवद्र्धन हुन्छ यसबाट हुने फाइदा बारे बताईदिनुहोस न् ?
खानी गुफालाई संरक्षण गरी जियो पार्कको रुपमा विकास गरी विद्यार्थी, शिक्षक, पर्यटक, सबैको लागि ज्ञानपयोगी बनाउन सकिन्छ । तामाको धाउ कस्तो हुन्छ, भन्ने ज्ञान दिन यो ठाउँ प्रयोगशाला हुन सक्छ । खानी उद्यमीहरुले आउदा दिनमा यस क्षेत्रमा तामा खानीको सम्भाव्यता अध्ययन गर्ने सूचनाको रुपमा प्रयोगमा आउन सक्नेछ । विश्व विद्यालयबाट भू–गर्भ, वातावरण देखि माईनिङ्ग इन्जिनियर पढ्ने विद्यार्थीहरु यहाँ आउन सक्नेछन् । पूरानो समयमा हामी, धातुमा समेत आत्मनिर्भर थियौं भन्ने सन्देश दिन सकिन्छ । त्यसैले यो खानी गुफा यस क्षेत्रको पहिचान हो । यसको संरक्षणको लागि पहिरोबाट रोक्ने प्रविधिहरु अपनाउनु पर्दछ । प्रवद्र्धनका लागि त्यस ठाउँमा पुग्ने बाटो बनाउने, गुफाको सुन्दरता बिग्रन नदिने, बर्षायाममा भेल, भूक्षयबाट जोगाउने, यो के हो भन्ने बिषयमा चिनाउन ब्रोसर, होडिङ्ग बोर्ड, ब्यानर, लेख–रचना तयार गरी प्रचार–प्रसार गर्ने तथा यस गुफाको बारेमा वेवसाईट नै तयार गरी देश, विदेशमा समेत प्रचार–प्रसार गर्ने आदी ।
–नेपालमा खानी उत्खनन् कार्य खनिज पदार्थ सकिएर रोकीएको हो कि ?, अन्य राजनैतिक कारणले स्थगन भएको हो ? तपाईलाई के लाग्छ ?
खानी सकिएर होईन्, हामी समय अनुसार प्रविधिको विकास (खानी खन्ने औजार तामा प्रशोधन गर्ने रसायन, विधि आदी) मा जान नसकेको कारण बन्द भएका हुन् । अहिले संसारबाट तामा सकिदैं गएको अवस्थामा हाम्रो क्षेत्रका बहुमुल्य धातुहरुले पक्कै पनि बजार पाउने छन् ।
–संसारको अन्य देशको तुलनामा नेपाल एउटा भुगर्भविद्को नजरमा कस्तो लाग्छ ?
यो ज्यादै महत्वपूर्ण सवाल हो, मेरो विचारमा । खानी गुफा, छिम्केश्वरीको दृश्य र धार्मिक महत्व, यस क्षेत्रका चट्टानहरु र त्यसमा रहेका अन्य खनिजहरु (फलाम, शिशा आदी) यहाँका विरुवाहरु, समाजका परम्परा, रितीरिवाज, चाडपर्व, बाध्यवादन आदी कुराहरु समेटेर जाने हो भने, यो क्षेत्र जियो टुरिजम (भू–पर्यटन) को हिसाबमा राम्रो संभावना भएको ठाउँ हो । यसका लागि अनुसन्धानमा आधारित योजना बनाएर काम गर्नु पर्दछ  । यसको लागि छुट्टै अध्ययन गर्नु पर्दछ । संभावना प्रचुर छ । विस्तृत विवरण अनुसन्धान पछि मात्र भन्न सकिन्छ ।
–आँबुखैरेनीलाई जियो पार्कको परिकल्पना गर्ने आधार छन् ? छन् भने कस्तो पूर्वाधार तयार गर्नुपर्ला ?
जियो पार्क/भू–पर्यटन: वास्तवमा जियो पार्क भनेको अहिले भै रहेको स्थानमा आएर भौगर्भिक हिसाबले महत्व बोकेको चट्टान, भू–संरचना, खनिज, अवशेष आदीको अवलोकन गर्नु, ज्ञान लिनु, रमाउनु हो । उक्त पार्क लगायत यसका वरपरका भू–भागमा समेत आइ प्राकृतिक आनन्द लिनु, ज्ञान लिनु, अनुसन्धान गर्नु आदी भू–पर्यटनको एउटा अंश हो ।
जियो पार्कको परिकल्पनाका आधारहरु :–
१) धैरे प्रकारका चट्टान हुनु ।
२) ती चट्टानमा भौगर्भिक महत्वका वस्तुहरु जस्तै खनिज भेटिनु ।
३) चट्टान बन्दाका अवस्थाहरु जस्तै: ripple mancs, leminations, mud-cracks etc. भेटिनु ।
४) हिमालय पर्वत बन्दाका संरचना जस्तै: folds, faults etc. भेटिनु ।
५) भिरालो पना उक्लिएपछि मनमोहक दृश्यहरु देखिनु ।
६) छिम्केश्वरीको धार्मिक महत्व हुनु आदी ।
जियो पार्क पूर्वाधारको लागि महत्व समेटेका चट्टानको पहिचान गर्नु र संरक्षण गर्नु, बाटो बनाउनु, घुम्ने, बस्ने, खाने ठाउँको विकास गर्नु आदी पर्दछन् ।
–जलबायु परिवर्तन र बेला बेला जाने भुकम्पसँग भू–गर्भको अन्तर सम्बन्ध छ की छैन् । छैन्, भने यसबाट देखिने परिणाम के हुन् ?
जलवायु परिवर्तन र भूकम्प दुवैसँग भू–गर्भ विज्ञानको सोझो सम्बन्ध छ । यस क्षेत्रमा रहेका सक्रिय दरारहरु भविष्यका भूकम्पका स्रोत हुन् । त्यसैगरी हिमताल विस्फोटन भएमा मस्र्याङ्गदी नदीमा बाढिको खतरा छ । ठुला–ठुला पहिराहरु गई नदी थुनिएमा पनि मानिसलाई विपद् आउन सक्छ । जलवायु र भूकम्प दुवैबाट यस्ता प्रकोप निम्तिन सक्ने भएकोले संभावित प्रकोप न्युनिकरणका लागि भौगर्भिक अध्ययन र उपायहरु अवलम्वन गर्नु आवश्यक छ ।
–नेपालमा माध्यमिक शिक्षा उतिर्ण पश्चात विद्यार्थीहरु प्राय डाक्टर ईन्जिनियर आफ्नो लक्ष्य रहेको बताउछन् । किन होला ?
पुरानो सोँच हो । भू–गर्भ पनि व्यवहारिक विषय हो । यो इन्जिनियरिङ्ग विद्या नै हो । केहि वर्षयता भू–गर्भ विज्ञान पढ्ने विद्यार्थीहरुको नेपालमा घुँइचो लागेको छ । वास्तवमा हरेक क्षेत्रको विकाशको लागि भू–गर्भको ज्ञान अपरिहार्य छ । भू–गर्भको अध्ययन नगरि बनाएको पहाडी बाटोले नेपालमा प्रत्येक वर्ष ठूलो धन जनको क्षति भएको छ । जमिनको बलियो पना थाहा पाउन र सोही अनुसारको भौतिक संरचना निर्माण गर्न भू–विज्ञानको अध्ययनको विकल्प छैन । हाइड्रोपावर/सुरुङ्ग निर्माणको लागि पनि भू–गर्भविदको ज्ञान प्रमुख रहन्छ । सडक खन्दा, सुरुङ्ग निर्माणमा, खनिज पहिचान र खानीको विकास गर्न, पहिरो नियन्त्रण गर्न, वादि नियन्त्रण गर्न, भूमिगत जल, झरना आदिको पहिचान र उचित संरक्षण गर्न, भू–उपयोग नक्साङ्कन गर्न, जिओ टुरिजम प्रवद्र्धन गर्न तथा हाम्रा पहाडका चट्टान र माटोको पहिचान र सहि प्रयोग गरी देशलाई समृद्ध बनाउन राज्यका हरेक निकाय र तहमा भू–गर्भविद्को संलग्नता अनिवार्य गरिनु पर्दछ । जसले दीगो विकासको अवधारणा सार्थक हुन जान्छ र यस विद्यामा अध्ययन गर्नेको संङ्ख्या बढ्न गई भविष्यमा देश आत्मनिर्भरको बाटोमा अगाडी बढ्ने छ ।
–नेपालमा प्राय उच्च शिक्षा हासिल गर्ने जनशक्ति विदेश पलायन हुनुमा तपाईलाई के लाग्छ ? दक्ष जनशक्तिलाई प्रयाप्त उपयोग गर्न नसकेको हो ?
विदेश पलायन रोक्न स्वदेशमा योग्यता र शीप अनुसारको रोजगारी र सम्मान सृजना गर्नुपर्दछ । हामीसँग यसको लागि योजना र आत्मविश्वासको कमी छ तर संभावना प्रचुर छ ।
–प्रंसग बदलौं, लाग्छ तपाईको जीवनको लामो समय प्रकृतीलाई नै पाठशाला बनाउनुभयो, खेल्नुभयो, रमाउनुभयो, यसको निशानी केही दिनुभएको छ की ?
मैले अहोरात्र खटेर यो क्षेत्र लगायत नेपालका धेरै ठाउँको भौगर्भिक नक्सा बनाएको छु । त्यसमा खनिजको अवस्था, चट्टानको प्रकृत्ति लगायतका सूचनाहरु समावेश छन् । यस अनुरुप विकास गर्नु राज्यको काम हो । प्रत्येक वर्ष झण्डै १ सय जना भू–गर्भविद्हरुलाई त्रि.वि. मा मेरो ज्ञान बाँडेको छु । आउँदा दिनमा विश्व विद्यालयमा देश, समाजले चाहेको बेला सेवा दिन तयार छु । मैले देशमै बसेर भू–गर्भको क्षेत्रमा काम गर्ने सपना र महत्वकांक्षा लिएर काम गरिरहेको छु र नयाँ पुस्तालाई पनि यहि सन्देश दिन चाहान्छु ।
–तपाईको जीवनमा बिर्सन नसकिने केही क्षणहरु भए बताईदिनु होस् न ?
यस क्षेत्रमा भौगर्भिक नक्सा बनाउने क्रममा म १९ महिना जति स्लिपिङ व्यागमा सुतेर काम गरेको छु । प्रायः राती बाँस बस्दा अपरिचित भएको कारण घर बाहिर सुत्नु पर्दा एकपटक मध्य रातमा यसै ठाउँको भंगेरीमा चितुवाले मेरै आडमा सुतेको कुकुर झम्टेर लगेको, एक दिन बाटो हराएर जंगलमा रुख चढि सुतेको लगायतका क्षणहरु सम्झना गर्न लायक छन् । यस क्षेत्रका समुदाय विशेष गरी गुरुङ जाति जसले मलाई विभिन्न समयमा राती बाँस–गाँस दिएर मायाँ गर्नु भएको उत्तिकै अविस्मरणीय छ । त्यसै गरी यस ठाउँको भौगर्भिक अध्ययनबाट मैले मेरो नाम अगाडी डा. लेख्न सकेकोमा यस क्षेत्रका बासिन्दा प्रति सदैव ऋणी छु ।

images
images

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०९:३७:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology