Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन : अन्जान तिमिल्सिना

कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन : अन्जान तिमिल्सिना

इच्छाकामना न्युज

१, आश्विन २०७९
कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन : अन्जान तिमिल्सिना
images

जनमुक्ति सेनामा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादी केन्द्रको बागमती प्रदेशका नेता अन्जान तिमिल्सिनाले पनि बिहीबार पार्टी परित्याग गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रकै प्रभावशाली नेता तिमिल्सिनाले पार्टी परित्याग गरेपछि यसले पनि चितवनको राजनीतिमा हलचल ल्याएको छ । उनी भरतपुर–१६ का बासिन्दा हुन् । पार्टी परित्यागको सन्दर्भमा तिमिल्सिनासँग न्युज कारखानाले कुराकानी गरेको छ ।

images
images

तपाईं जनयुद्धमा पनि लाग्नुभयो, सैन्य कमाण्डर पनि भएर हिँड्नु भो, अहिले माओवादी किन छाड्नुभयो ?

कुनै एउटै घटनाले हामी प्रभावित भएको हैन, यसको लामो श्रृखला छ । राजनीतिक हिसाबले हामीले निर्णय गरेको हो । वर्ग संर्घष क्रान्ति हुनुपर्छ भनेर जनयुद्धमा होमियौं । इमानदारितापूर्वक लाग्यौं । परिवर्तनका लागि जनयुद्ध गरेका थियौं । शान्ति प्रक्रियामा आयौं । तर, प्रचण्ड नेतृत्वले मूल एजेण्डा छाड्दै गयो । जनमुक्ति सेनाको समायोजन र व्यवस्थापनमा मूल नेतृत्व चुक्यो । हाम्रा एजेण्डा सेलाउँदै गए । पार्टी नेतृतव मूलतः भ्रम सिर्जना गर्ने काममा लाग्यो । राजनीतिक र वैचारिक रुपमा माओवादीसँग आज कुनै मुद्दा र एजेण्डा छैन ।

तपाईंहरूले पार्टी भित्र यी कुराहरू उठाउनु भएन ?

पार्टी भित्र संर्घष गर्‍यौं । स्थानीय तहको निर्वाचन अगाडि पनि हामीले भन्यौं । तर, भ्रम र आश्वासन दिएर भुलाउन खोजियो । हामी यहाँसम्म आउँदा पार्टीले अब क्रान्ति गर्दैन , गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेको हो । एमसीसी पास नगर्ने भनेर महाधिवेशनमा उपस्थित ५ हजार जना प्रतिनिधिले पास गरेको कुरालाई किन लत्याइयो भन्नुस् त ? महाधिवेशभन्दा ठूलो प्रचण्डको आदेश हुन्छ र ? पछि उहाँले ब्याख्यात्मक टिप्पणीको बर्को लगाएर एमसीसी पास गर्नुभयो । उहाँले ब्याख्यात्मक टिप्पणी गरेर हुने कुरा हो र त्यो ? त्यसपछि पनि विभिन्न घटनाक्रम देख्दा जस्तो की नागरिकता विधेयक उस्तै तरिका देखिन्छ ।

नेकपा हुँदा उहाँले नै हैन विदेशबाट बिहे गरेर आउने बुहारीलाई नागरिकताका लागि ७ बर्षे प्रावधान राख्ने भन्ने उहाँ नै हैन । आज किन त्यहाँबाट च्यूत भएको ? अर्को कुरा के छ भने जसरी अहिले गठबन्धन बनेको छ यो मूलतः नेपाली जनता, नेपाल र अझै पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई असर गर्ने खालको देखिन्छ । नेपालका कम्युनिष्टहरूलाई सिध्याउन विदेशीहरूले यो गठबन्धन बनाएका हुन् । कम्युनिष्ट पार्टी सिध्याउन कम्युनिष्ट भन्ने पार्टी लाग्न मिल्छ ? एमालेलाई कमजोर पारेर नेपालका कम्युनिष्टहरूको हित हुन्छ त ? एमाले कमजोर हुँदा माओवादी बलियो हुन्छ कि कांग्रेस ? कम्युनिष्ट हौं भन्ने तर, कांग्रेसलाई पहिलो पार्टी बनाएर राज्यसत्ता सुम्पिने काम कम्युनिष्ट विरोधी मात्रै हैन, जनविरोधी काम हो । यसले हाम्रो वर्गको हित गर्दैन ।

तपाईं त सैन्य कमाण्डर पनि हो, हिजोका लडाकुले पाएको दुःखले तपाईंलाई उद्वेलित बनाएको हो ?

पक्कै पनि म प्रचण्डको सुरक्षा हेर्ने व्यक्ति पनि हुँ । प्रचण्डको भौतिक सुरक्षामा सैन्य फाँटबाट मैले योगदान गरेको छु । वाइसीएलहरूलाई तालिम दिने काम पनि गरेँ । म जनसैन्य प्रतिष्ठानको प्रमुख प्रशिक्षक पनि हो । उनीहरूको पीडा मैले नजिकबाट अनुभूति गरेको छु । प्रचण्ड दलाल नोकरशाहीको घेराबन्दीमा परेँ । नातावाद र कृपावादको हावी भयो । युद्धकालमा हामीलाई जोगाउन जनताको ठूलो योगदान र लगानी थियो । त्यो कुरालाई आज प्रचण्डले बुझेनन् । पारिवारिक सेटिङ र किचेन क्याबिनेट खडा गरियो ।

अन्ततः हामीजस्ता युद्ध लड्ने, ज्यान हत्केलामा लिएर हिँड्ने मान्छे नेता कार्यकर्ता पार्टीमा बसिरहन सकिएन । राजनीतिक वैचारिक हिसावले भन्नुहुन्छ भने माओावदी केन्द्रको विचार अस्पष्ट दिशाहिन छ । कस्तो समाजवाद ल्याउने हो ? कसले नेतृत्व गर्ने हो भन्ने दुविधा छ माओवादीजनमा । कांग्रेसका पछाडि लागेर, उसले दिएको हात थापेर खाएर समाजवाद ल्याउँछ भनेर हामीले पत्याउनु ? कार्यकर्तालाई भुलभूलैयामा राख्ने छल्ने ढाँट्ने कामले परिवर्तन हुन्छ र ?

एमालेमा त्यस्तो के देख्नुभो र प्रवेश गर्नुभो त ?

बरु एमालेसँग स्पष्ट दृष्टिकोण पाएँ । विकास र समृद्धिको एजेण्डा छन् । आज १५ महिना यो गठबन्धनले सरकार चलाउँदा खै कहाँ के भयो देशमा ? सामाजिक, राजनीतिक, विकासका दृष्टिकोणबाट त एमाले स्पष्ट नै देखिन्छ । कोभिडको महामारी भरखरै संविधान जारी भए पछिको अवस्थामा पनि एमालेले विकासको छनक दिएको देखिन्छ । भूकम्पले भत्किएका संरचना उठाउन एमाले नेतृत्वको सरकारले योगदान गरेको देखिन्छ । केपी ओलीसँग भिजन छ । तर, गठबन्धनसँग एमाले कसरी कमजोर पारेर सिध्याउने भन्ने मात्रै कुण्ठा छ । जुन गलत छ । देशमा दुई एमाले चाँहिदैन । एउटै एमाले नै काफी छ ।

तपाई पद नपाएर एमाले आएको भन्ने पनि छन् नि ?

म पद र पैंसाका पछि लाग्ने मान्छे हैन । राजनीति मेरो पेसा हैन सेवा हो । अब मलाई अनेक आरोप लगाउँछन् । गद्दार भन्लान्, आर्थिक प्रलोभनमा परेको भन्लान् । पद पाएर गएको भन्लान् अनेक भन्छन् । तर, मलाई त्यसको प्रवाह छैन । हिजो माओवादीमा हुँदा पनि मैले एक रुपैया चन्दा उठाएको खाएको छैन । बरु आफ्नै पुर्ख्यौली सम्पति बेचेर हिँडेको छु । सम्पति बेचेर पार्टीमा लागेको थिएँ । पद नपाएर गएको, पद खान गएको भन्ने कुरालाई म खारेज गर्न चाहन्छु । राजनीतिक हिसाबले स्पष्ट भएर एमाले भएको हुँ । कांग्रेसका पछि लाग्नभन्दा एमाले ठिक छ भन्ने मेरो निष्कर्ष हो ।

images
प्रकाशित मिति :आश्विन १, २०७९ शनिवार - ११:२०:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology