देवघाट । देवघाटधामलाई पूर्णरुपमा प्लास्टिक निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ । देवघाट क्षेत्र विकास समितिले सरोकारवाला निकाय एवम् क्षेत्रसँगको समन्वय र सहकार्यमा देवघाट क्षेत्रलाई नै प्लास्टिक निषेधित क्षेत्र बनाउने तयारी गरेको हो ।
क्षेत्र विकास समितिले चितवनतर्फ भरतपुर महानगरपालिका, तनहुँतर्फ देवघाट गाउँपालिका र नवलपरासी बर्दघाट सुस्तापूर्वतर्फ गैँडाकोट नगरपालिका, सहमति संस्था गैँडाकोट तथा वातावरण संरक्षणकर्मीहरुसँगको समन्वय र सहकार्यमा पूर्णरुपमा प्लास्टिक निषेधित क्षेत्र बनाउने तयारी गरिएको हो । क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार तीर्थस्थल क्षेत्रलाई पूर्णरुपमा सफा राख्दा वातावरण प्रदूषणसमेत कम हुन्छ ।
सार्वजनिक स्थानहरुमा मानवसिर्जित फोहोर बढी हुने हुँदा मानिसकै चाप बढी हुने क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उनले बताए । ‘फूल, प्रसाद, अक्षता, टीका, धूपलगायतका पूजा सामग्री प्लास्टिकमै ल्याउँदा त्यसले नदीकिनार पनि फोहोर हुने र कतिपय प्लास्टिक नदीमै बगाइदिने हुँदा फोहोर बढ्दै गयो । त्यसकारण अब पनि हामीले यसलाई रोकेनौँ भने भोलिका दिनमा देवघाट क्षेत्र फोहोरको थुप्रोले पुरिने छ’, उनले भने ।
मानवसिर्जित फोहोरका कारण मानवबस्तीभन्दा टाढासम्म पनि फोहोर फैलिने हुँदा देवघाट क्षेत्रजस्तो मानिसको उपस्थिति बाक्लो हुने खुला स्थान शवदाह स्थलमा समेत मृतकले प्रयोग गर्ने सबै सामान ल्याएर छाडिदिँदा त्यसमै प्लास्टिक निषेध गरिँदा वातावरण संरक्षणमा ठूलो टेवा पुग्ने उनको भनाइ छ ।
देवघाटको शवदाह स्थलमा भने मृतकले प्रयोग गर्ने सबै खालका लत्ताकपडा ल्याएर छाडिदिनुका साथै औषधिहरुसमेत फालिदिँदा सरसफाइमा थप चुनौती सिर्जना भएको उनले बताए । क्षेत्र विकास समितिले नियमित सरसफाइका लागि तीन जना कर्मचारी खटाएको छ । तर, सामान्य स्थानभन्दा फरक परिवेश हुने हुँदा पटकपटक सबैलाई सम्झाउन पनि उपयुक्त नहुने भएकोले सरसफाइमा समस्या देखिएको उनको भनाइ छ ।
‘दुःखमा परेका बेला यसो नगर्नू, उसो नगर्नू भनिरहन पनि नैतिकताले दिँदैन’, उनी भन्छन्, ‘मलामी आउनेहरु एउटालाई सम्झायो, अर्कोले सुन्दैन । त्यसकारण सञ्चारमाध्यमकै प्रयोग गरेर प्रचारप्रसार गरे भोलिका दिनमा त्यस्ता समस्या समाधान हुने अपेक्षा छ ।’
देवघाट क्षेत्रलाई पूर्णरुपमा प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्नका लागि क्षेत्र विकास समितिभित्र पर्ने तीनवटा पालिकासँग छलफल चलाउने उनले बताए । ‘भरतपुर, देवघाट र गैँडाकोट गरी तीनवटै पालिकासँग बसेर छलफल गरेपछि हाम्रो योजनाले सार्थकता प्राप्त गर्छ’, उनी थप्छन्, ‘त्यसपछि छिट्टै हामी देवघाट क्षेत्रलाई पूर्णरुपमा प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्ने अभियान सञ्चालन गर्ने छौँ ।’
अबका दिनमा नदीकिनार र समग्र देवघाट क्षेत्रलाई नै पूर्णरुपमा सरसफाइयुक्त क्षेत्र घोषणा गर्ने योजना अघि सारिएको हुँदा देवघाट क्षेत्र प्रवेश गर्ने तीर्थयात्री, घाटमा आउने व्यक्ति कसैले पनि प्लास्टिकजन्य सामग्रीको प्रयोग नगरिदिन क्षेत्र विकास समितिले आग्रह गरेको छ । प्रयोगलाई बिस्तारै घटाउँदै लगे भोलिका दिनमा प्रयोग शून्य हुन सक्ने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष डा. ईश्वरीप्रसाद लौडारीले जानकारी दिए ।
फोहोर बढ्दै जाँदा भोलि देवघाट क्षेत्र प्रवेश गर्नै नसकिने अवस्था आए हामीलाई हामीभन्दा पछाडिका पुस्ताले सराप्ने छन्’, उनले भने, ‘मानवजगत्सँगै जलचर र थलचरलाई पनि फोहोरले प्रभावित तुल्याउने हुँदा समग्र वातावरण प्रदूषण रोक्नु हाम्रो कर्तव्य हो ।’ उनका अनुसार देवघाटधाम मात्र नभई देवघाट क्षेत्रभित्र पर्ने पाँच हजार ४३२ हेक्टर क्षेत्रफललाई नै सफा राख्न पूर्णरुपमा प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियान चलाउने योजना बनाइएको हो ।
गैँडाकोटस्थित सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले देवघाट क्षेत्रमा परिवर्तन हुँदा देशकै धार्मिकस्थलहरुको ध्यान खिच्ने हुँदा यहाँको परिवर्तन सबैका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताए । जैविक विविधता र समुदायकेन्द्रित कार्यक्रमले नदी तटीय क्षेत्रको सरसफाइमा योगदान पुग्ने उनको भनाइ छ ।
‘४० माइक्रोनभन्दा कम क्षमताको प्लास्टिक त प्रयोग गर्नै भएन, त्यसभन्दा माथिका पनि प्रयोग नै नगर्दा राम्रो’, उनी भन्छन्, ‘प्लास्टिकका झोलाको विकल्पमा विभिन्न खालका झोला प्रयोगमा आइसकेका छन्, त्यसैले प्लास्टिक नै प्रयोग गर्नुपर्छ भन्ने पनि छैन ।’