काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रवादी शक्तिमाथि प्रहार जारी रहेको दाबी गरेका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत उनले मुलुक संकटमा भएको अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक भएको बताएका हुन्।
उनले एकताबद्ध भएर अगाडि बढ्दा संकट पार लाग्ने बताए। ‘मुलुक संकटमा छ, राष्ट्रवादी शक्तिमाथि प्रहार जारी छ।’ महासचिव पोखरेलले भने, ‘यस्तो अवस्थामा नीतिमा दृढता र नेतृत्वमा एकता अत्यावश्यक छ। अघि बढौं– सम्भव छ ।’
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७–२९ गते काठमाडौं उपत्यकामा हुँदैछ। महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि चयन हुँदैछ। एमालेले सकेसम्म सर्वसम्मत र सहमति हुन नसकेका स्थानमा मतदानमार्फत प्रतिनिधि चयन गर्दैछ।