Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गाउँको सरल जीवन : खर काट्ने मौसम सुरु

गाउँको सरल जीवन : खर काट्ने मौसम सुरु

इच्छाकामना न्युज

९, मंसिर २०८२
गाउँको सरल जीवन : खर काट्ने मौसम सुरु
images

गुल्मी । पहाडी जिल्लाको ग्रामीण भेगमा खर काट्ने समय सुरु भएको छ । घरगोठ छाउनुका साथै गाईवस्तुका लागि खर काट्न ग्रामीण भेगका महिला निकै व्यस्त छन् । छिमेकी सबै मिलेर खर काट्ने र त्यसलाई टौवा बनाएर स्याहार्ने गर्छन् । 

images
images

बिहानमा आफ्नो घरको काम गर्ने अनि दिनभरि सबै मिलेर एकअर्काका भिरपाखामा रहेको खर काट्ने अनि साँझ मात्र घरमा फर्किने चलन ग्रामीण भेगमा अझै पनि छ । यो समयमा छिमेकी दिदीबहिनी सुख, दुःखका कुरा गर्दै खर काट्नमा निकै व्यस्त देखिन्छन् । अहिले काटेर राखेको खरले घरगोठ छाउनुका साथै हिउँद र वर्षासम्मका लागि गाईवस्तुलाई खुवाउन निकै सजिलो हुने गरेको छ । 

गुल्मीको मालिका गाउँपालिका–२, दर्लिङकी विष्णु विश्वकर्माले खर काट्ने समय सुरु भएको बताउनुभयो । उहाँले आफ्नै खरबारीमा रहेको खर छिमेकीसहित विगतदेखि नै चार/पाँच जना महिला दिदीबहिनीको सहयोगमा काट्दै आएको बताउनुभयो । अहिले काटेर राखेपछि हिउँदमा गाईवस्तुलाई खुवाउन र गोठ छाउन सजिलो हुने भन्दै विष्णुले आफूले भैँसी, बाख्रा पालेको सुनाउनुभयो । 

उहाँले भन्नुभयो, “म जस्तै अन्य दिदीबहिनी पनि अहिले खर काट्नुका साथै बारीमा पाकेको कोदो स्याहार्नमा निकै व्यस्त हुनुहुन्छ । कोहीकसैले मिलेर खर काट्ने गर्छौं । कसैले खर काटेबापत ज्याला पनि लिने गर्नुहुन्छ ।” उहाँले कसैले खर काटेर बिक्रीसमेत गर्ने अनि घर खर्चसमेत चलाउँदै आएको बताउनुभयो । 

मदाने गाउँपालिका–१, अग्लुङकी सावित्रा सुनार पनि खर काट्न निकै व्यस्त हुनुहुन्छ । बिहानै घरबाट यही कामका लागि निस्कने गरेको भन्दै उहाँले खाजा खानासमेत बोकेर खरबारी पाखापखेरामा खर काट्न पुगेको सुनाउनुभयो । खर काटेर नै घर खर्चको जोहो गरेको सावित्राको भनाइ छ । 

सोही स्थानका महेन्द्र जिसीको परिवार पनि अहिले खरसँगै बारीमा रहेको कोदो काट्न निकै व्यस्त देखिन्छ । उहाँले खर काटेर घरसम्म ल्याएर स्याहार्दासम्म छिमेकीको सहयोग आवश्यक पर्ने बताउनुभयो । भिरपाखामा काटेको खर ल्याउन पुरुषले पनि सहयोग गर्ने भन्दै उहाँले आफू पनि खर काट्न जाने गरेको सुनाउनुभयो । खर भिरमा हुने भएकाले काट्ने बेला अप्ठ्यारा झेल्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :मंसिर ९, २०८२ मंगलवार - १०:२७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology