Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मौलाकाली केबलकार पुनः सञ्चालनमा

मौलाकाली केबलकार पुनः सञ्चालनमा

इच्छाकामना न्युज

२, मंसिर २०८२
मौलाकाली केबलकार पुनः सञ्चालनमा
images

नवलपरासी । गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ। जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो।

images
images

मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी गरिएको बताए। केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने कुनै समस्या नआएमा केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने पौडेलको भनाइ छ। 

गैँडाकोट–१ मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाखबाट सञ्चालनमा आएको केबलकार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो। 

'आगजनी र तोडफोडका क्रममा केबलकारको तल्लो स्टेशनमा क्षति पुगेको थियो', उनले भने, 'क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान गरिएको अष्ट्रियाको संस्थाबाट विशेष प्राविधिक टोली आएर एक सातासम्म परीक्षण गरेको थियो।' 

प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मतसम्भार गरेपछि केबलकार सञ्चालन गरिएको पौडेलले बताए। केबलकारको आन्तरिक परीक्षणपश्चात् सबै ‘सिस्टम’ले स्थिर रूपमा काम गरिरहेको पुष्टि भएसँगै अब केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको पौडेलको भनाइ छ। 

'मर्मतपछि केबलकारको सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित रहेको पुष्टि भएको छ', स्टेसन म्यानेजर पौडेलले भने, 'अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ।'

मौलाकालिका मन्दिरका दर्शनार्थी तथा अपर स्टेसनमा रहेको होटलमा जाने यात्रुहरू ढुक्क भएर यात्रा गर्नसक्ने अवस्था भएपछि केबलकार नियमित सञ्चालनमा ल्याइने पौडेलले बताए। 

मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताए।

उनले आगजनी र तोडफोडबाट केबलकार संरचना तथा उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको बताए। जेनजी आन्दोलनपछि केबलकार बन्द हुँदा मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा कमी आएको जनाइएको छ। 

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून रहेको छ।

'केबलकार सञ्चलनमा हुने समयसम्म मन्दिर आउने दर्शनार्थीहरु उल्लेख्य रुपमा देखिनुहुन्थ्यो', उनले भने, 'केबलकार बन्द भएकाले यस वर्ष दसैँको समयमा अपेक्षाकृतरुपमा भक्तजनको उपस्थिति देखिएन।' अब केबलकार नियमित रुपमा सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजन बढ्ने अपेक्षा गरिएको सापकोटाले बताए। 

पछिल्लो समय यस मन्दिरमा धार्मिकसँगै प्रकृतिमा रमाउने पर्यटक आउने गरेका सापकोटाले बताए। 'हिउँदका समयमा मन्दिरबाट बिहान मन्दिरमुनि बजार क्षेत्रमा हुस्सु (कुहिरो) र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ', उनले भने, 'योसँगै उत्तरतर्फ तनहुँ र गोरखाका रमणीय पहाडसँगै हिमालसमेत अवलोकन गर्न सकिन्छ।' रासस

समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा पर्छ । 

images
प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - ११:०४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology