Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन : अध्यक्ष ओली

अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन : अध्यक्ष ओली

इच्छाकामना न्युज

२८, कार्तिक २०८२
अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन : अध्यक्ष ओली
images

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ । भदौ २३ र २४ गतेको विध्वंशबाट गठन भएको गैरलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु व्यर्थ भएको टिप्पणी गर्नुभएको हो । एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैमा हास्यास्पद भएको बताउनुभयो । अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको तर नेताहरूलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताउनुभयो । ‘यो सरकार चुनाव गराउने भन्छ।

images
images

नेताहरूलाई स्थान हद तोकेको छ। जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने,’ अध्यक्ष ओलीले सरकारप्रति आक्रोस पोख्दै भन्नुभयो, ‘राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?’ अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास स्वरूप भएको बताउनुभयो । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको उहाँको भनाइ छ। अध्यक्ष ओलीले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको बताउनुभयो । यस्ता सुरक्षा समितीले अपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरूलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने बताउनुभयो । अध्यक्ष ओलीले गैरसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि एमालेले ब्यापक दबाब सिर्जना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो।

उहाँले प्रतिनिधि सभाको पुनर्स्थापनामार्फत् लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याइने बताउनुभयो। बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गतेको जागरण सभालाई झापामा भव्य रूपमा आयोजना गर्न निर्देशन दिनुभएको छ। उहाँले केन्द्रीय स्तरको जनपरिचालन कार्यक्रम सकिए पनि जिल्लाले अलग्गै आन्दोलनका कार्यक्रम बनाएर निरन्तरता दिन पनि निर्देशन दिनुभएको छ । बैठकमा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गीरीले भदौ २३/२४ को विध्वंश, आगजनी र तोडफोडपछिको अवस्थाका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउनुभएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २८, २०८२ शुक्रवार - ०८:२९:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology