Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

प्रचण्डको छायामा पूर्वएमालेका कमान्डहरू

प्रचण्डको छायामा पूर्वएमालेका कमान्डहरू

इच्छाकामना न्युज

२७, कार्तिक २०८२
प्रचण्डको छायामा पूर्वएमालेका कमान्डहरू

काठमाडौं । एमाले पूर्वउपाध्यक्ष डा. भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। माओवादी, एकीकृत समाजवादीसहित १० वाम घटक हालै नेपाली कम्युनिस्ट पार्टी बनेको हो। एमालेबाट ११ महिना निष्कासनमा परेका रावल मातृभूमि जागरण अभियान नेपाल चलाइरहेका थिए। बुधबार मातृभूमि जागरण अभियानलाई उनले पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीका समाहित गराएका हुन्। 

images

त्यसअघि संयोजक प्रचण्ड र सहसंयोजक नेपालसँग ७ बुँदे सम्झौता गरेका थिए। राष्ट्रियसभामा आयोजित समारोहकाबीच रावलले अभियानलाई नेपाल कम्युनिस्ट पार्टीमा समाहित गराए। ०८१ पुस १० गते एमालेका पूर्वउपाध्यक्ष डा. रावललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा कारबाही गरिएको थियो। एमालेको सचिवालय बैठकबाट पार्टी सदस्य नरहने गरी रावललाई निष्कासन गरिएको थियो।

त्यसपछि उनले मातृभूमि जागरण अभियानको गठन गरेका थिए। कात्तिक २४ गते मातृभूमि जागरण अभियान नेपाललाई नेता रावलले नेपाली कम्युनिस्ट पार्टीमा समाहित गरेको घोषणा गरेका थिए। एमालेका अध्यक्ष ओलीले पार्टी छोडेर गएकालाई ‘घर फर्कन’ आह्वान गरिरहेका बेला नेता रावल भने प्रचण्ड–माधव नेपाल नेतृत्वको पार्टीमा समाहित भएका हुन्। 

प्रचण्डको छायामा पूर्वएमालेका कमान्डहरू
एमालेका तत्कालीन नेता माधवकुमार नेपालसँग बिछोड भएका रावल अन्ततः एकै ठाउँमा आइपुगेका छन्। कात्तिक १९ गते माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी प्रचण्ड नेतृत्वको माओवादीसहितका १० वटा वामपन्थी मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको थियो। ०७८ भदौ २ गते एमाले फुटाएर नेपालको अध्यक्षमा एकीकृत समाजवादी गठन भएको थियो। 

प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीको पाँचतारे झण्डामुनि पूर्वएमाले नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, डा.भीम रावल गोलबन्द भएका छन्।एमाले अध्यक्ष केपी शर्मा ओली दोहोरो चरित्र देखाउने नेता भएको रावलले आरोप लगाए। 
 
एकातिर आफ्नै नेताहरूलाई पार्टी छाड्न दबाब दिने र अर्कोतर्फ घर फर्किने आह्वान गर्ने गरेको रावलले घोषणासभामा आरोप लगाए। राष्ट्रियसभा गृहमा बुधबार आयोजित कार्यक्रममा रावलले ओलीले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीलाई पार्टीबाट निस्केर जान दबाब दिएको पनि बताए। 

‘केपी ओलीले दुईतिहाइको सरकारलाई विभाजन गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो। जम्बो जेट चलाउने वाचा गर्नुभएको उहाँले कम्युनिस्ट आन्दोलनलाई धोका र गद्दारीमात्र गर्नुभयो,’ नेता रावलले भने, ‘नेकपा विभाजन गर्न विदेशीसँग मिलेर उहाँले सकुनीको भूमिका निर्वाह गर्नुभयो। विभिन्न बहाना बनाएर मलाई समेत धोका दिनुभयो।’ 

एमालेमा ठूलो विद्रोह हुने प्रचण्डको दाबी
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले एमालेमा ठूलो विद्रोह हुने दाबी गरे। उनले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यता नदिएको भन्दै एमाले अध्यक्ष ओलीको आलोचना गरे। ‘अहिले कमरेड विद्या भण्डारीले पार्टी सदस्य पाउभन्दा समेत नदिने, त्यस्तो एमाले मदन भण्डारीको एमाले हुन सक्छ त ?’ उनले भने, ‘मलाई थाहा छैन। भूकम्प जान्छ जाँदैन। आज एकीकरणमा एमालेका युवा नेता प्रकाश शाह सहभागी हुनुभएको छ। अब एमालेमा उहाँजस्तै धेरै प्रकाशहरू जन्मिनेछन्।’

प्रचण्डले कम्युनिस्ट पार्टीहरूबीचको एकता रणनीतिक नभएको दाबी गरेका छन्। उनले कम्युनिस्टहरूबीच बलियो धु्रवीकरणको आवश्यकता रहेको उल्लेख गरे।
‘यो ट्याक्टिकल एकता होइन। चुनावका लागि गरिएको एकता पनि होइन। राष्ट्र बचाउनुपर्ने ऐतिहासिक आवश्यकता आइप¥यो। त्यो वस्तुगत आवश्यकता देखेर एकताको सुरुवात गरेका हौं,’ प्रचण्डले भने, ‘अब १० बाट १२ घटक पुगेको र आगामी दिनमा यो संख्या बढेर जान्छ। यही तरिकाले अघि बढ्दै जाने हो भने नेपालमा अरू दल नै नरहने हो कि भन्ने पनि आयो।’ 

प्रचण्ड– नेपाल र रावलबीचको ७ बुँदे सम्झौता :
(१) नेपाल र नेपाली जनताको सर्वोपरी हित, राष्ट्रिय सार्वभौमिकता, एकता, स्वाधीनता, अखण्डता, स्वाभीमान तथा आत्मनिर्णयको अधिकारलाई अक्षुण्ण राख्दै वाह्य हस्तक्षेप र दबाबबाट मुक्त राजनीति, राष्ट्रिय अर्थतन्त्र एवं संस्कृतिको मार्गमा अग्रसर रहने।
(२) समाजवाद एवं सामाजिक न्यायको मान्यतामा आधारित आर्थिक–सामाजिक रूपान्तरण र समृद्धिको लागि कटिबद्ध रहने।
(३) आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने। महाधिवेशनको मिति र स्थान सचिवालयले यथाशीघ्र निर्धारण गर्ने। सबै तहमा र मातृभूमि जागरण अभियान, नेपालअन्तर्गत विभिन्न तहमा क्रियाशील व्यक्तिहरूलाई नेपाली कम्युनिस्ट पार्टीको सोही तहमा पारस्परिक सहमतिले समायोजन गर्ने।
(४) नेपाली कम्युनिस्ट पार्टीमा मातृभूमि जागरण अभियान, नेपालका संयोजक डा. भीम रावलको जिम्मेवारी लगायतका विषयमा आपसी सहमतिबाट टुंगो लगाउने।
(५) पार्टी विधान, राजनीतिक प्रतिवेदन र कार्यक्रम लगायतका दस्तावेजहरू आपसमा मिलेर तयारगर्ने।
(६) पार्टीको सञ्चालन विधान, विधि पद्धति र लोकतान्त्रिक मान्यताको आधारमा गरिने। सामूहिक नेतृत्व र जनवादी केन्द्रीयताको अनुशरण गरिने।
(७) पार्टी एकीकरणका लागि विभिन्न तहमा आवश्यकताअनुसार कार्यदल गठन गर्ने ।

 

अन्नपूर्णबाट

images
प्रकाशित मिति :कार्तिक २७, २०८२ बिहिवार - ०८:१२:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology