Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

टाँगाचालकको पेसा सङ्कटमा

टाँगाचालकको पेसा सङ्कटमा

इच्छाकामना न्युज

३०, भाद्र २०८२
टाँगाचालकको पेसा सङ्कटमा
images

बबई (बर्दिया)। बर्सौंदेखि टाँगा चलाएर जीविकोपार्जन गर्दै आएका बर्दियाका टाँगाचालक पछिल्लो समय कामविहीन हुन थालेका छन् । सवारीसाधनका आधुनिक साधनको प्रयोग बढ्न थालेपछि टाँगाको उपयोग घट्दै गएसँगै टाँगाचालक कामविहीन हुन थालेका छन् ।

images
images

गुलरियादेखि भारतको सीमा क्षेत्र मूर्तिहासम्म टाँगा चलाउँदै आएका चालक अब दिनहुँ जसो यात्रु नपाएर कामविहीन हुन थालेका छन् । एक दशकअघिसम्म यो सडकखण्डमा ५२ वटा टाँगा सञ्चालनमा रहे पनि हाल १६ वटा मात्र सञ्चालनमा छन् । टाँगाचालकले दिनभरिमा करिब छ सय रुपियाँसम्म कमाउँछन् तर त्यसमा पनि करिब तीन सय रुपियाँ घोडाको आहारामा खर्च हुने गरेको टाँगाचालकले बताएका छन् । 

गुलरिया नगरपालिका–७ का टाँगाचालक सब्बिर खाँले भन्नुभयो, “घर घरमा मोटरसाइकल र अन्य सवारीसाधन पुगेपछि यात्रु नै पाइँदैन । बिहान ७ बजेदेखि बाटोमा बस्छौँ, साँझ रित्तो हात घर फर्किनु पर्छ ।” भारतको मूर्तिहाबाट बिहान र साँझ सञ्चालन हुने रेल सेवाले केही यात्रु उपलब्ध गराउँथ्यो तर रेल सेवा बन्द भएसँगै टाँगाचालकको रोजीरोटी बन्द हुने अवस्थामा पुगेको छ । अघिल्लो पुस्तामा विवाह, व्रतबन्ध, धार्मिक वा सामाजिक समारोहमा टाँगाको विशेष महत्व हुने गरेको थियो तर अहिले त्यो प्रचलनसमेत हराउँदै गएको छ ।

गुलरिया नगरपालिका–८ का टाँगाचालक कल्लु चौधरीले करिब दुई दशकदेखि यो पेसा अपनाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “टाँडा चढ्ने मानिस पनि आउँदैनन्, आइहाले भने पनि भाडा पनि पुरानै छ । आठ किलोमिटर यात्राका लागि एक सय रुपियाँ लिन्छौँ तर मानिसले टाँगा चढ्नै मान्दैनन् । टाँगा चलाउन गाह्रो र खर्चिलो पनि छ ।” चालकको भनाइ अनुसार दैनिक आम्दानीले न त परिवारको गुजारा चल्छ, न त घोडाको खर्च धानिन्छ । त्यसैले धेरै जसो चालकले यो पेसा त्याग्न थालेका छन् ।

गुलरिया नगरपालिका–६ का वडाध्यक्ष सुधांशुप्रकाश शर्माले कोभिड महामारीको समयमा टाँगाचालकको राहतका लागि चामल, दाल, तेल र घोडाका लागि आहाराको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले त्यसबाहेक दीर्घकालीन सहयोग गर्न नसकिएको स्वीकार गर्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका कर्मचारी कृष्ण डिसीले भन्नुभयो, “सवारीसाधनको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । त्यसैले परम्परागत सवारी टाँगाको आकर्षण घट्नु स्वाभाविक हो ।”    

images
प्रकाशित मिति :भाद्र ३०, २०८२ सोमवार - ०९:३१:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology