Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पक्राउ परेका दक्षिण कोरियाली कामदारलाई ट्रम्पले ‘अवैध आप्रवासी’ भनेपछि सोलमा आक्रोश

पक्राउ परेका दक्षिण कोरियाली कामदारलाई ट्रम्पले ‘अवैध आप्रवासी’ भनेपछि सोलमा आक्रोश

एजेन्सी

२२, भाद्र २०८२
पक्राउ परेका दक्षिण कोरियाली कामदारलाई ट्रम्पले ‘अवैध आप्रवासी’ भनेपछि सोलमा आक्रोश
images

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यमा रहेको हुन्डाई मोटर-एलजी कार ब्याट्री कारखानामा भएको अध्यागमन छापामा सयौँ दक्षिण कोरियाली नागरिक पक्राउ परेपछि दक्षिण कोरियाका राष्ट्रपति ली जे-म्युङले यस घटनाबारे सबै आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

images
images

अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागको एक निकाय, अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले बिहीबार कारखानामा छापा मारेको थियो। यसमा ४७५ जना कामदार पक्राउ परेका छन्, जसमध्ये ३०० भन्दा बढी दक्षिण कोरियाली नागरिक छन्। यो छापा अमेरिकाको इतिहासमा एकै ठाउँमा भएको सबैभन्दा ठुलो अध्यागमन कारबाही हो।

दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्हापका अनुसार, शनिबार दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युनले राष्ट्रपति लीले यस मामिलालाई छिटोभन्दा छिटो समाधान गर्न अधिकारीहरूलाई निर्देशन दिएको बताइएको छ। उनले अमेरिकामा लगानी गर्ने दक्षिण कोरियाली कम्पनीहरू र नागरिकहरूको अधिकार र हितको हनन हुन नहुनेमा जोड दिएका छन्।

चोले पक्राउ परेका ३०० भन्दा बढी कोरियाली नागरिकको मामिला हेर्नका लागि एक टोली गठन गरिएको र आवश्यक परेमा आफू वासिङ्टन डिसी गएर अमेरिकी अधिकारीहरूसँग भेटघाट गर्ने पनि बताए।
 
यो छापा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बढाइरहेको अध्यागमन नीतिको एक हिस्सा हो। यो कारखाना विद्युतीय गाडीहरूका लागि ब्याट्री उत्पादन गर्ने उद्देश्यले निर्माण भइरहेको थियो।

शुक्रबार ह्वाइट हाउसमा एक पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भन्नुभयो, ‘तिनीहरू अवैध विदेशी थिए, र आईसीईले आफ्नो काम मात्रै गरिरहेको थियो।”

आईसीईका अधिकारी स्टिभन श्र्याङ्कले केही पक्राउ परेका व्यक्तिहरूले अवैध रूपमा सीमा पार गरेको, केहीले काम गर्न अनुमति नभएका भिसामा आएको र केहीले भिसाको म्याद नाघेको भन्दै गिरफ्तारीलाई सही ठहराए।

दक्षिण कोरियाको विपक्षी दल पिपुल पावर पार्टी (पीपीपी) ले यस गिरफ्तारीप्रति कडा आपत्ति जनाएको छ। पार्टीका अध्यक्ष जाङ डोङ-ह्येकले एक विज्ञप्ति जारी गर्दै यो घटनाले देशका लागि गम्भीर खतरा उत्पन्न गर्न सक्ने चेतावनी दिए।

पीपीपीका प्रवक्ता पार्क सुङ-हुनले यस घटनाका लागि राष्ट्रपति लीलाई जिम्मेवार ठहर्याउँदै उनको अमेरिकी नीतिले नागरिकहरूको सुरक्षा र दक्षिण कोरियाली व्यवसायहरूको प्रतिस्पर्धा सुनिश्चित गर्न असफल भएको आरोप लगाए।

हुन्डाईले एक विज्ञप्ति जारी गर्दै आफू यस मामिलालाई नजिकबाट नियालिरहेको बताएको छ, तर पक्राउ परेका कोही पनि कम्पनीका प्रत्यक्ष कर्मचारी नरहेको स्पष्ट पारेको छ।

एलजी इनर्जी सोलुसनले पनि सबै सान्दर्भिक विवरणहरू सङ्कलन गरिरहेको र सम्बन्धित अधिकारीहरूसँग पूर्ण सहयोग गर्ने जनाएको छ।
एशियाको चौथो ठुलो अर्थतन्त्र दक्षिण कोरिया अमेरिकामा धेरै कारखानाहरू भएको एक प्रमुख गाडी र इलेक्ट्रोनिक्स निर्माता हो।

ट्रम्पको महसुलबाट बच्न र अमेरिकी बजारमा पहुँच पाउनका लागि यसका कम्पनीहरूले अमेरिकामा कारखाना निर्माण गर्न अर्बौं डलर लगानी गरेका छन्।

images
प्रकाशित मिति :भाद्र २२, २०८२ आइतवार - ०९:५४:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology