राप्ती । चितवनको राप्ती नगरपालिकाले चेपाङ समुदायको न्वागी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । न्वागी पर्वको अवसरमा बागमती प्रदेश सरकारले भदौ २२ गते चितवन सहित तिन वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ भने राप्ती नगरपालिकाले भदौ २३ गते स्थानीय सार्वजनिक बिदा दिएको हो ।
चेपाङ समुदायले मनाउने न्वागी पर्व भदौ २२ गते हो । सो दिन पर्व परेपनी २३ गते पनि विविध कार्यक्रम गरि मनाउने गरिएको छ ।
राप्ती नगरपालिकाको पहाडी ४ वटा वडामा चेपाङ समुदायको बाहुल्यता रहेको छ भने वडा नम्बर १३ मा चेपाङ मात्रै छउन्जेल । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले एक विज्ञप्ति जारी गर्दै भदौ २२ गते आइतबार बागमती प्रदेश सरकारले बिदा दिएको र राप्ती नगरपालिकाले भने त्यसको भोलिपल्ट २३ गते नगरपालिका भरी स्थानीय सार्वजनिक बिदा दिएको उल्लेख छ । सो दिन नगरपालिका भित्रका सरकारी कार्यालयहरु, शिक्षणसंस्था बन्द रहने जनाईएको छ । न्वागिको अघिल्लो दिन शनिबार परेकोमा आइतबार र सोमबार सार्वजनिक बिदा भएपछि यहाँ लगातार तीन दिन बिदा हुनेछ ।
न्वागीको अवसरमा राप्ती १० मा २२ र २३ गते चेपाङ समुदायले विशेष कार्यक्रम पनि गर्दैछन् ।
बागमती प्रदेश सरकारले भने चितवन, मकवानपुर र धादिङका लागि मात्र सार्वजनिक बिदा दिएको छ । यी तीन वटा जिल्लामा चेपाङ समुदायको बाक्लो बसोबास छ । जनगणना २०७८ अनुसारमा नेपालमा ८४ हजार ३६४ चेपाङको संख्या छ ।
