ललितपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने दाबी गरेका छन् ।
७० वर्षे उमेर सीमा बढाइएको ओलीका लागि मात्र नभएको भन्दै उनले नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणकै कारण ओली नै राष्ट्रको विकल्प रहेको दोहोर्याए ।
विद्या भण्डारीबारे पोखरेलले भने, ‘संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै स्थान छ । पूर्वराष्ट्रपति सम्मानित र मर्यादित रहनु आवश्यक छ । पार्टीले आफ्नो नेताको सम्मानमा कुनै कसर बाँकी राखेको छैन ।’

स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज राजन भट्टराईले पार्टीभित्र निराश हुने अवस्था नरहेको बताए ।
‘२०७९ को तुलनामा अहिलेको परिवेश अनुकूल हुँदै गएको छ । व्यक्तिगत दम्भ र जुँगाको लडाइँ त्यागेर फराकिलो छाती बनाएर पार्टी एक भए विजय सुनिश्चित हुनेछ,’ भट्टराईले भने ।
नगर कमिटी अध्यक्ष विक्रम घिमिरेले विधान महाधिवेशन गोदावरीमै हुनु नगरवासीका लागि सुखद भएको बताए ।
कार्यक्रममा एमाले पोलिट्ब्युरो सदस्य सुशीला नेपाल, केन्द्रीय सदस्य बाबुराम थापा, बागमतीका कृषि तथा पशुपन्छी मन्त्री मधुसुदन पौडेल, सांसद प्रेमबहादुर मर्हजन, ललितपुर-१ इन्चार्ज रुपनारायण श्रेष्ठ, प्रदेश सांसद प्रेमभक्त मर्हजन र रघुनाथ महर्जन, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यलगायत थिए ।
