Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती प्रदेश उच्च शिक्षा परिषद्को बैठक एक वर्षसम्म पनि बसेन

बागमती प्रदेश उच्च शिक्षा परिषद्को बैठक एक वर्षसम्म पनि बसेन

इच्छाकामना न्युज

२३, श्रावण २०८२
बागमती प्रदेश उच्च शिक्षा परिषद्को बैठक एक वर्षसम्म पनि बसेन
images

हेटौँडा । सत्ता परिवर्तनको असरका कारण बागमती प्रदेश उच्च शिक्षा परिषद्को बैठक अन्योलमा परेको छ । एक वर्षदेखि बस्न नसकेको बैठक कहिले बस्छ टुङ्गो छैन । 

images
images

कर्मचारीको असहयोगका बाबजुद अघि बढिरहेको अवस्थामा पनि प्रदेश सरकारको चासो नहुँदा यसले बागमती विश्वविद्यालयको भविष्य नै अनिश्चित बन्ने देखिएको छ । 

हालै सरकार परिवर्तनपछि परिषद्ले पदाधिकारी पाउन सकेको छैन । सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको उक्त परिषद्को अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ भने सामाजिक विकासमन्त्री उपाध्यक्ष हुने गरेका छन् । 

साउन २० मा प्रदेश सरकारले मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँ पाए पनि विभागीय मन्त्री भने तोकिन सकेका छैनन् । सो मन्त्रालयको जिम्मेवारीसमेत मुख्यमन्त्री बानियाँसँगै छ । जसका कारण तत्काल परिषद्को बैठक बसने अवस्था देखिँदैन । 

एक वर्षदेखि बैठक बस्न नसक्दा विश्वविद्यालयका कार्यक्रम सञ्चालनमा समेत समस्या परेको छ ।

बागमती प्रदेश उच्च शिक्षा ऐन, २०७८ को दफा ४ को उपदफा १ अनुसार परिषद्को बैठक वर्षमा कम्तीमा तीनपटक अनिवार्य बस्नैपर्छ । तर निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाको कार्यकालमा एक पटक पनि परिषद् बैठक बसेन । उच्च शिक्षाका नीति निर्माणका कामहरूमा बेवास्ता गरिएको छ ।

जसका कारण प्रदेशको एकल अधिकारअन्तर्गत रहेको उच्च शिक्षाप्रति उदासीनता देखिएको छ । नीतिगत रूपमा उच्च शिक्षालाई प्राथमिकतामा राखेको देखिँदैन भने कर्मचारी तहबाट बैठक सञ्चालनका लागि तयारी नहुँदा यो थप अन्योल बनेको हो । 

सामाजिक विकास मन्त्रालयका सचिव परिषद्को सदस्य सचिव रहने कानुनी व्यवस्थालाई कार्यान्वयनमा नल्याउने, बैठक आह्वान नगर्ने तथा जिम्मेवारीबाट पन्छिने कर्मचारीको प्रवृत्तिले समस्या भएको हो । कर्मचारीको लापरबाही र स्वेच्छाचारिताको कारण बागमती विश्वविद्यालयले पेस गरेका कानुन, नियम तथा संरचनागत प्रस्तावहरू स्वीकृति नपाएर अलपत्र परेका छन् ।

बागमती विश्वविद्यालयका उपाध्यक्ष डा. कुशुमराज सुवेदीका अनुसार सरकारको चासो र कर्मचारीको तर्फबाट उचित सहयोग नहुँदा समस्या भएको हो । सरकारले परिषदको बैठक चलाएर आवश्यक निणय लिन नसकदा विश्वविद्यालयका आगामी कार्यक्रमसमेत सुरु गर्न नसकेको उनले बताए । 

प्रदेश सरकार मातहतको विश्वविद्यालय उच्च शिक्षाका सवालमा पूर्णतः निर्भर हुँदा नीति निर्माणमा ढिलाइ हुनुले संस्थागत विकासमा समस्या भएको उनको भनाइ छ ।

परिषद्को बैठक नबस्दा प्रदेशमा उच्च शिक्षासम्बन्धी नीति, रणनीति, स्तर निर्धारण, तथा आंगिक क्याम्पस स्थापनाजस्ता महत्त्वपूर्ण काम एक वर्षसम्म अवरुद्घ भइरहेको उनले बताए ।

प्रदेश विश्वविद्यालय स्थापनाको तयारी थालेको २ वर्षपछि परिषद्को कार्यालय स्थापना गरिएको थियो भने ३ वर्षपछि बागमती विश्वविद्यालय नामकरण गरी कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापना गरेर काम थालेको वर्ष दिन पूरा भएकाले विश्वविद्यालय सञ्चालनका लागि जग्गा स्वामित्वको अन्तिम निर्णय र भवन निर्माण प्रक्रिया तत्काल अघि बढाउनुपर्ने चुनौती छ । 

विश्वविद्यालयका ३ वटा (आर्थिक, संगठन र शिक्षक कर्मचारीसम्बन्धी) विनियम स्वीकृति प्रक्रियामा ढिलाइ भइसकेको छ । आंगिक क्याम्पसलाई स्वीकृति दिन बाँकी हुँदा थप समस्या देखिएको छ भने बजेट अभाव पनि छँदै छ । भौतिक संरचना अभावले संरक्षक समिति (बोर्ड अफ ट्रस्टी)को कार्यालय सामाजिक विकास मन्त्रालयसँगैको अस्थायी भवनमा राखिएको छ ।

विश्वविद्यालय सञ्चालनका लागि आगामी भदौको म्याद तोकेर पूर्वतयारीमा लागे पनि आवश्यक निर्णय हुन सकेका छैनन् । शैक्षिक कार्यक्रम सञ्चालनका लागि पाठ्यक्रम, आंगिक क्याम्पसहरू छनोट, नियम तथा विनियमहरू स्वीकृत हुन नसक्दा सञ्चालनमा अन्योलता थपिएको छ । आंगिक क्याम्पसहरू छनोट भए पनि मन्त्रिपरिषद्मा पेस हुन सकेको छैन ।

राजनीतिक नेतृत्व, मन्त्री र कर्मचारी प्राशासनको ढिलासुस्तीका कारण विश्वविद्यालयका कार्यक्रम सञ्चालन लक्ष्यअनुसार हुन सकेका छैनन् । 

विश्वविद्यालयले पाठ्यक्रम निर्माण, आंगिक क्याम्पस छनोट तथा प्रतिवेदनसहित मन्त्रिपरिषद्बाट निर्णय गराउन मन्त्रालयमा पेस गरेको छ । बोर्ड अफ ट्रस्टीमार्फत सरोकारवाला निकाय र मन्त्रालयका २/२ जना प्रतिनिधिबाट निवेदन आएका २५ क्याम्पसको अनुगमन तथा मूल्यांकन गरेर १० वटालाई छनोट गरी प्रतिवेदनसहित सिफारिस गरिएको छ । 

तर उक्त सिफारिस परिषद्को बैठकले अनुमोदन गरी मन्त्रिपरिषद्मा पठाउनुपर्ने हुन्छ । मन्त्रिपरिषद्बाट निर्णय गराएर ती विषय कार्यान्वयनमा लैजानुपर्ने हुन्छ ।

images
प्रकाशित मिति :श्रावण २३, २०८२ शुक्रवार - ०८:३८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology