बिमलनगर, १७ साउन । ड्राइभिङ स्कुल संघ नेपाल तनहुँको आयोजनामा शनिबार बन्दिपुर-४ स्थित बिमलनगरमा पहिलो पटक जिल्ला भित्र सञ्चालनमा रहेका ड्राइभिङ स्कुलका प्रशिक्षकहरूलाई लक्षित गरी एक दिने तालिम कार्यक्रम सम्पन्न गरिएको छ।
तालिममा बोल्दै यातायात कार्यालय बिमलनगरका प्रमुख गोपाल वलीले प्रशिक्षकहरूलाई दिइएको तालिमले ड्राइभिङ सेन्टरमा सिक्न आउने सेवाग्राहीहरूलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। साथै, राजस्व संकलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यातायात क्षेत्रको कार्यलाई ड्राइभिङ स्कुलहरूले अघि बढाएकोमा उनले आभार प्रकट गरे।
कार्यक्रममा तनहुँ ट्राफिक प्रहरी कार्यालय प्रमुख कृष्ण बहादुर चन्दले पछिल्ला सवारी दुर्घटनामध्ये ८० प्रतिशत चालकको लापरवाहीका कारण हुने गरेको उल्लेख गर्दै, दक्ष चालक उत्पादनका लागि ड्राइभिङ स्कुलहरूले हेल्मेट र सिटबेल्ट जस्ता आधारभूत सुरक्षा उपायहरूबारे अनिवार्य प्रशिक्षण दिनुपर्ने बताए।
ड्राइभिङ स्कुल संघ तनहुँका अध्यक्ष सूर्य प्रसाद पौडेलले सवारी लाइसेन्सको ट्रायल दिनुअघि ड्राइभिङ स्कुलबाट अनिवार्य रूपमा तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था ल्याउनुपर्नेमा जोड दिँदै, यसले चालकलाई दक्ष बनाउने र दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा तनहुँ जिल्लामा सञ्चालित ११ वटा ड्राइभिङ स्कुलहरूको सहभागिता रहेको थियो।