चितवन, १४ साउन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत सौराहा नजिक जंगली हात्ती ‘गोविन्दे’को आक्रमणबाट एक जना नेपाली सेनाका हवल्दार घाइते भएका छन्।
बुधबार बिहान करिब ७ बजेतिर गस्ती सकेर फर्किंदै गरेका सेनाको टोलीमाथि जंगली हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिनुभयो।
घटनामा ३८ वर्षीय सैनिक हवल्दार नन्दबहादुर सिंह घाइते भएका हुन्। सिंहको हात र ढाडमा चोट लागेको छ भने उहाँको अवस्था सामान्य रहेको बताइएको छ।
सौराहाबाट करिब डेढ किलोमिटर टाढा रहेको मचानबाट डिउटी सकेर कछुवानी पोस्टतर्फ फर्किंदै गरेका चार जना सैनिकसंग जम्काभेट हुँदा हात्तीले एक्कासि आक्रमण गरेको थियो।
हात्तीको आक्रमणपछि सेनाले हवाई फायर गरेपछि गोविन्दे जंगलतर्फ भागेको थियो।
निकुञ्ज प्रशासनका अनुसार गोविन्दे नामक उक्त जंगली हात्ती यसअघि पनि मानवीय बस्ती नजिक देखिने र जोखिमपूर्ण गतिविधिहरूमा संलग्न हुने गरेको छ। जनधनको क्षति हुन नदिन हात्ती व्यवस्थापनको थप उपायहरू अपनाउने तयारी भइरहेको जनाइएको छ।