चितवन, असार २२ । भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्य गर्ने उद्देश्यका साथ अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ। दलित र गैरदलितबीच अन्तरजातीय विवाह गर्ने जोडीहरूलाई प्रत्येकलाई एक–एक लाख रुपैयाँ प्रदान गरिएको छ।
महानगर प्रमुख रेनु दाहालले विगत पाँच वर्षदेखि यो कार्यक्रम सञ्चालन हुँदै आएको बताए। उनले जातीय विभेद घटाउन यो अभियानले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सामाजिक समानता प्रवर्द्धनमा निरन्तर काम गर्नुपर्नेमा जोड दिए। उहाँका अनुसार संविधानले जातीय विभेदलाई अपराधको रुपमा व्याख्या गरेको छ र गत केही वर्षयता यसको घटबढमा सकारात्मक प्रगति देखिएको छ।
नगर उपप्रमुख चित्रसेन अधिकारीले अन्तरजातीय विवाह सामाजिक परिवर्तनको एउटा महत्वपूर्ण साधन भएको बताए। हाल पनि कतिपयले अन्तरजातीय विवाहप्रति नकारात्मक सोच राखेको हुँदा यसलाई क्रमशः हटाउन सबैको सक्रियता आवश्यक रहेको उनले उल्लेख गरे।
महानगर प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले भने, "२०२१ सालमा दलित भेदभावलाई दण्डनीय ठहर्याउने कानुन बने पनि सामाजिक भेदभाव अझै पूर्ण रुपमा हट्न सकेको छैन।" उनले सामाजिक क्रान्तिमा सहभागी जोडीहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गरे।
यस वर्ष सम्मानित जोडीहरूमा भरतपुर–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्रीष, अनिल हरिजन र लक्ष्मी लामिछाने, अशोक परियार र सुमिता रानामगर लगायतका १५ जोडी रहेका छन्।
महानगरले यसअघि आर्थिक वर्ष २०७७/७८ मा तीन, २०७८/७९ मा तीन, २०७९/८० मा सात र २०८०/८१ मा १० जोडीलाई सम्मान गरेको थियो।