Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

चितवनमा धान रोप्न मेसिनको प्रयोग बढ्दो

चितवनमा धान रोप्न मेसिनको प्रयोग बढ्दो

images

इच्छाकामना न्युज

१६, आषाढ २०८२
चितवनमा धान रोप्न मेसिनको प्रयोग बढ्दो
images

चितवनमा धानको रोपाइँमा कृषि यान्त्रीकरणको प्रयोग बढेको छ। चार वर्षअघि ६० बिगाहा क्षेत्रफलमा मेसिनबाट धान रोपेका किसानले यसलाई विस्तार गर्दै लगेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका अनुसार धान जोन क्षेत्रमा मात्रै यस वर्ष दुई सय बिगाहा क्षेत्रफलमा किसानले मेसिनबाट धान रोप्दै छन्।

विगतमा परियोजनामार्फत भएका अभ्यासले कृषकलाई यान्त्रिकरणतर्फ आकर्षित गराएको उनले बताए। कृषिमा आधुनिकीकरण गराउँदा किसानको लागत मूल्य घट्नुका साथै उत्पादन बढ्ने हुँदा किसानले यसतर्फ विशेष चासो देखाउने क्रम बढ्दै गएको परियोजनाको भनाइ छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका धान जोन समन्वय समितिका अध्यक्ष तेजप्रसाद बर्तौलाले लागत घटाउनका लागि किसानहरू यान्त्रीकरणतर्फ अग्रसर भएको बताए। कृषि यान्त्रीकरण र प्रविधिबाट धान उत्पादनको लागत २५ प्रतिशतले घटेको बर्तौलाको अनुभव छ। ‘हातले धान रोप्दा एक बिगाहा क्षेत्रफलमा १६ हजारभन्दा बढी लागत पर्छ। मेसिनबाट पाँच हजार रूपैयाँमा धान रोपिन्छ,’ उनले भने, ‘पूर्वबाट खेतालाहरू आउन छाडे। यहाँ खेताला पाउन कठिन छ। यस्तो अवस्थामा अब किसानहरू यान्त्रीकरणतर्फ नगई हुँदैन।’

मेसिनबाट धान रोप्दा बिउको लागतसमेत कम लाग्ने उनले बताए। प्रतिबिगाहामा ४० बिघा बिउ लाग्ने ठाउँमा मेसिनबाट धान रोप्दा प्रतिबिगाहा १२ केजी धान राखे पुग्छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानको उत्पादन बढाउन र लागत कम गर्न यान्त्रीकरणतर्फ काम गरिरहेको छ। अहिलेसम्म परियोजनाले चितवनमा आठ वटा धान रोप्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ। यस वर्ष पनि परियोजनाले ८५ प्रतिशत अनुदानमा धान रोप्ने मेसिन उपलब्ध गराउने योजना रहेको परियोजनाका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिए। ‘अहिले चितवनमा धान रोप्ने मेसिनको माग बढेको छ,’ उनले भने, ‘उत्पादन बढाउन र लागत घटाउन किसानको मागअनुसार ८५ प्रतिशतसम्म अनुदानमा मेसिन वितरण गर्ने योजना छ।’

किसानलाई धान रोप्ने मेसिनतर्फ आकर्षित गर्न परियोजनाले निकै कसर गरेको थियो। किसानको खेतमै पुगेर बिउ राखिदिनेदेखि रोप्नेसम्मको काम परियोजनाका कृषि प्राविधिकले गर्थे। हिजोआज भने किसानहरू आफैं अभ्यस्त हुँदै गएको उनले बताए।

मेसिनबाट धान रोप्नका लागि ट्रेमा बिउ राख्नुपर्छ तर अहिले चितवनका किसानले प्लास्टिकको म्याट बनाएर पनि बिउ राख्दै आएका छन्। ट्रे नभएको अवस्थामा लागत खर्च घटाउन प्लास्टिकको म्याट उपयुक्त हुने कृषि प्राविधिक बताउँछन्। ‘मेसिनबाट धान रोप्दा रोपाइँ एक लाइनको हुन्छ। त्यसबाट हावा छिर्न पाउँदा रोग तथा किरा कम लाग्ने हुन्छ,’ रेग्मीले भने, ‘गाँजको संख्या पनि बढी हुँदा उत्पादन वृद्धि हुन्छ।’

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जनशक्ति कम भएको अवस्थामा मेसिनले किसानलाई ठुलो राहत पुगेको बताए। ‘नेपालमा जनसंख्या वृद्धिदर कम छ। काम गर्ने मान्छे पाइन छाड्यो,’ आइतबार धान रोपाइँमा पुगेका अधिकारीले भने, ‘किसानका लागि यो प्रविधि उपयुक्त र सजिलो माध्यम हो।’

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले धानबालीलाई उच्च प्राथमिकतामा राखेर किसानलाई प्रविधितर्फ आकर्षित गर्नुपर्ने बताए।

चितवनमा २७ हजार दुई सय सात हेक्टर क्षेत्रफलमा वर्षे धानको खेती हुँदै आएको छ। त्यसको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव दुई टन रहेको परियोजनाले जानकारी दिएको छ। चितवनमा सिञ्चित क्षेत्रफल २६ हजार तीन सय आठ रहेको छ। त्यसमध्ये मध्यअसारमा आइपुग्दा आठ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलले जानकारी दिए। उनका अनुसार कुल क्षेत्रफलमा दुई हजार एक सय ९८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो।

images
प्रकाशित मिति :आषाढ १६, २०८२ सोमवार - ०८:५९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology