काठमाडौ, २ असार । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार नेदरल्यान्डसँग खेल्दै टी–२० त्रिकोणात्मक सिरिजको सुरुवात गर्दैछ। टिटवुडको ग्लासगोमा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।
पहिलो खेलमा स्कटल्यान्डसँग ३९ रनले पराजित भएको डच टोली पहिलो जितको खोजीमा छ। यता नेपाली टोली भने नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ। टी–२० सिरिज अघि भएको आइसीसी विश्वकप लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिजको दुवै खेलमा नेदरल्यान्डलाई हराएको नेपाली टोली उच्च मनोबलमा छ।
सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। टी–२० सिरिजमा किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा थपिएका छन्। टी–२० खेल्ने टोलीमा आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने टोलीबाट दुई खेलाडी परिवर्तन भएका छन्। चोटका कारण सोमपाल र गुल्सनले लिग–२ मा नेदरल्यान्ड्सविरुद्धको खेलसँगै टी–२० आईका पुरै सिरिज गुमाएका हुन्। लिग–२ मा नेपाली टोलीले स्कटल्यान्डलाई पहिलो खेलमा १ विकेटले पराजित गरेको थियो।
दोस्रो खेलमा २ रनले नेपाल पराजित भएको थियो। नेदरल्यान्डलाई भने पहिलो खेलमा ५ विकेटले हराएको नेपालले दोस्रो खेलमा १६ रनको जित निकालेको थियो। उता नेदरल्यान्डलाई पहिलो खेलमा ४४ रनले हराएको घरेलु टोलीले दोस्रो खेलमा भने ४ विकेटले हार व्यहोरेको थियो।
नेपाली टोलीः रोहित पौडेल कप्तान,आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह, आरिफ शेख