आँबुखैरेनी, १५ फागुन । नेपाल शिक्षक संघ आँबुखैरेनी इकाई समितिको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ। समितिको तेस्रो प्रतिनिधि सभा आँबुखैरेनीको बरादीमा रहेको ओदान रेष्टुरेण्टमा आज सम्पन्न भएको हो।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष गिर बहादुर थापाको प्रमुख आतिथ्यता र समितिको कार्यवाहक अध्यक्ष लक्ष्मण गुरुङको सभापतित्वमा सम्पन्न सभामा विशिष्ट अतिथिको रुपमा गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेल, जिल्ला समन्वय समिति तनहुँका शिक्षा शाखा प्रमुख अर्जुन बहादुर अधिकारी, शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोखरेल लगायत उपस्थित हुनुभएको थियो।
करिब १२० जना जति उपस्थित सभामा समितिका सचिव पम्फादेवी श्रेष्ठले शिक्षक संघ आँबुखैरेनी इकाईको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरुलाई नेपाली कांग्रेस आँबुखैरेनीका सचिव विष्णु पन्थले निःशुल्क हल र खाजाको व्यवस्था गरेको थियो।
