आँबुखैरेनी, २८ बैशाख । इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँद्वारा घर–घरमा प्रहरी अभियानको सुभारम्भ गरिएको छ ।
समुदायमा शान्ति सुरक्षा सम्बन्धी अवस्था बुझ्नुका साथै आम सर्वसाधारणसँग प्रत्यक्ष रूपमा सम्पर्क स्थापना गरी प्रहरी प्रतिको धारणा, गुनासो र सुझावहरू संकलन उद्देश्यले घर–घरमा प्रहरी अभियानको सुभारम्भ गरिएको हो ।
अभियान अन्तर्गत घर–घरमा नेपाल प्रहरीको सम्पर्क विवरण, क्यूआर कोड तथा सेवा उपयोग गर्ने तरिका उल्लेख गरिएको स्टिकर समुदायमा टाँस्ने कार्य सम्पन्न गरिएको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभयो ।
अभियान सुभारम्भ कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा नं. ३ का अध्यक्ष दिनेश के.सी., वडा सदस्य मनोज कुमार श्रेष्ठ, स्थानीय बुद्धिजीवी, समुदायका अगुवा तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो ।
प्रत्येक घरमा टाँसिने स्टिकरमा उल्लेख गरिएको क्यूआर कोड स्क्यान गरी नागरिकहरूले प्रहरी सेवासँग सजिलै सम्पर्क गर्न सक्नेछन्, साथै आफ्ना गुनासा तथा सुझावहरू समेत सहज रूपमा पठाउन सक्नेछन् ।
प्रहरी निरीक्षक सुवेदीले ३ समुदाय र प्रहरी बीचको विश्वास र सहकार्यको सुदृढीकरणका लागि उजागर गरीएको यो कदमलाई सफल बनाउन सबैको साथ र सहयोगको अपेक्षा रहेका बताउनभयो ।